
पोखरा स्पोर्टस । एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा लाओसविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती प्लेइङ- ११ सार्वजनिक भएको छ ।
उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा हुने यस खेलमा नेपाली टिमको कप्तानको जिम्मेवारी रेनुका नगरकोटी रहेकी छन् भने गोलकिपर अन्जना रानामगर खेल्दैछिन् । यस खेलबाट सरस्वती हमालले डेब्यू गरेकी छन् भने मिडफिल्डर सरु लिम्बुले आज आफ्नो ५०औं खेल खेल्दैछिन् ।
डिफेन्समा समीक्षा घिमिरे, पुजा राना र निशा थोकर खेल्दैछन् । मिडफिल्डमा सरु लिम्बु, रेनुका नगरकोटी, सरस्वती हमाल, सबिता रानामगर र अनिता बस्नेत रहेका छन् ।
त्यस्तै फरवार्डमा साबित्रा भण्डारी र रश्मी घिसिङ खेल्दैछन् । यसअघि नियमित खेल्दै आएका रेखा पौडेल, प्रीति राई र एन्जिला सुब्बा सुरुवाती प्लेइङ-११ मा परेका छैनन् ।
नेपाली महिला टिमको यो १००औं अन्तर्राष्ट्रिय खेल भएकाले यो खेल विशेष रहेको छ । महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो । फिफा वरियतामा नेपाल १००औं स्थानमा छ भने लाओस १०७औं स्थानमा छन् ।
त्यस्तै प्रशिक्षक प्याट्रिक डि वाइल्डका लागि पनि यो नेपाली राष्ट्रिय महिला टिममा डेब्यू खेल हो ।
