रसिलालाई माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि

पोखरा स्पोर्टस ।  नेपालकी प्रख्यात अल्ट्रा धाविका रसिला तामाङले म्यानमारमा सम्पन्न माउन्ट पोपा अल्ट्रा म्याराथनको ओभरअल उपाधि जितेकी छन् । आइतबार सम्पन्न उक्त ५० किलोमिटर दूरीको कठिन ट्रेल रेसमा रसिलाले ६ घन्टा १८ मिनेट ५१ सेकेन्डमा दौड पूरा गर्दै समग्रतर्फ पहिलो स्थान हासिल गरिन् ।

उल्लेखनीय कुरा त के भने, उनले पुरुष प्रतिस्पर्धीहरुलाई समेत पछि पार्दै ओभरअल विजेता बन्न सफल भइन् । यसअघि सन् २०२३ मा एशिया ट्रेल मास्टर्स (एटिएम) महिला च्याम्पियनसिप जितेर इतिहास रचिसकेकी रसिलाले यो जितसँगै आफ्नो सफलता यात्रा अझ उचाइमा पुर्‍याएकी छन् ।

उक्त रेसमा पुरुषतर्फ पाइङ ओलेले ७ घन्टा ३८ मिनेट ४२ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे । महिलातर्फ दोस्रो स्थानमा यीयी रहिन्, जसले ९ घन्टा ९सेकेन्डमा दूरी पूरा गरिन् भने साराह सेङ तेस्रो स्थानमा रहिन् । पुरुषतर्फ ज्याक स्पिड दोस्रो र अङ टुन लिन तेस्रो स्थानमा रहे ।

जितपछि रसिलाले “ओभरअल जित हात पर्दा अत्यन्त खुशी लागेको छ,” भन्दै रेसको उत्कृष्ट व्यवस्थाको समेत प्रशंसा गरिन् । उपाधिसँगै उनले कोरोस ब्राण्डको स्मार्ट स्पोर्ट्स घडीसहित विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरिन् ।

यस जितका आधारमा रसिला आगामी अक्टोबर ४ तारिखमा भियतनाममा आयोजना हुने एटिएम च्याम्पियनसिप फाइनलका लागि स्वतः छनोट भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close