
पोखरा स्पोर्टस । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पर्यटकीय क्षेत्र धम्पुसमा हुने तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८१ को तयारी पुरा भएको छ । प्रतियोगिताको स्थानीय व्यवस्थापन माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुस र संयोजन माछापुच्छ्रे गाउँपालिका भलिबल संघ लाहाचोक कास्कीले गरेको हो ।
माछापुच्छ्रे गाउँपालिका वडा नं.७ धम्पुसको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा फागुन १४ देखि १७ गते सम्म हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा पुरुष तर्फ १४ र महिला तर्फ ५ टिमले सहभागि जनाउने माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पालिकाबाट दुई जना राष्ट्रिय खेलाडिको समावेश गराउन पाउने व्यवस्था गरिएको छ ।‘यो प्रतियोगितामा दुई जान वाहिरी खेलाडी पनि राख्ने व्यवस्था मिलाइएकोले राष्ट्रियस्तरका खेलाडी पनि प्रतियोगितामा सहभागिता जनाउने छन्’ अध्यक्ष गुरुङले भने,‘राष्ट्रिय खेलाडीको सहभागित हुने भएकोले प्रतियोगिता थप रौनकता छाउने हामीले विश्वास लिएका छौ ।’
प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितीय पुरस्कार १ लाख र सेमी फाइनलमा उपविजेता दुइ टिमलाई ५०/५० हजार ट्रफि मेडल र प्रमाणपत्र रहेको छ । त्यसैगरी महिलातर्फ प्रथम पुरस्कार १ लाख, द्धितीय पुरस्कार ५० हजार र सेमी फाइनलमा उपविजेता दुई टिमलाई २५/२५ हजार ट्रफि मेडल र प्रमाणपत्र रहेको छ ।
पुरुष तथा महिला भलिवलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न माछापुच्छ््रे गाउँपालिकाले १३ लाख रुपैया विनियोजन गरेको अध्यक्ष मिन बहादुर गुरुङले जानकारी दिए ।
यस वर्ष देखि महिला भलिबल प्रतियोगिता पनि समावेश गर्ने भएकोले प्रतियोगितामा अझै वढि रौनकता थपिने माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सिता अधिकारीले जानकारी दिइन् । ‘धम्पुस परिचित एक पर्यटन गाँउ हो’ उपाध्यक्ष अधिकारीले भनिन्,‘पर्यटकी गाँउमा गरिएको यो प्रतियोगिताले पर्यटन सँगै खेल क्षेत्रको प्रवद्र्धन गर्न पनि मद्धत मिल्ने हामीले विश्वास लिएका छौ ।’
स्थानियस्तरबाट खेलाडि उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा खाना, खाज र वस्नको प्याकेजको व्यवस्था मिलाईएको माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार न्यूनतम १ हजारको दरले होमस्टे तथा होटलहरुमा खाना, खाजा र आवाशको प्याकेजको व्यवस्था गरिएको छ । उनका अनुसार एक रातमा धम्पुस साना ठुला ४० होटलमा १ हजार जान सम्म राख्न सकिने छ ।
प्रतियोगितामा विविध साँस्कृतिक कार्यक्रम पनि रहने छ । प्रतियोगितामा राष्ट्रिय लोक दोहोरी गायक जीवन दाहाल, कुमार पुन, लोक दोहोरी गायक कमला सुनार, तथा हास्य व्यङ्य तथा गायक ललित पुन लगायत स्थानीय कलाकारको प्रस्तुति, स्थानीय आमा समूह, युवा क्लब, टोल विकास संस्था लागयतका संस्थाहरुको झाँकी पञ्चेबाजा तथा साँस्कृतिक सांगितिक प्रस्तति रहने छ । प्रतियोगिता बढि भन्दा बढि टिम सहभागिता गराउनका लागि टिम शुल्क निशुल्क गरेको माछापुच्छ्रे गाँउपालिका खेलकुद विकास समितिकोका सदस्य सचिव हुमबहादुर गुरुङले जानकारी दिए ।
दोस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८० मा बौदीकाली गाँउपालिका नवलपुर प्रथम, र गल्कोट नगरपालिका बाग्लुङ दोस्रो भएका थिए ।
