ओलम्पिक ‘डे’ अवसरमा प्रदेश खेलकुद परिषद द्वारा रंगशालामा वृक्षारोपण

पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीले पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरेको छ । परिषदले रंगशालालाई स्वच्छ एवं वातावरणमैत्री बनाउन ओलम्पिक डे को अवसरमा वृक्षारोपण गरिएको जनाएको हो । सो वृक्षारोपण कार्यक्रमको प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शुभारम्भ गरे । 

सो अवसरमा बोल्दै मन्त्री थापाले ओलम्पिक डेको खेलकुद क्षेत्रमा महत्व राख्ने भएकोले रंगशालालाई वातावरणमैत्री बनाउन यो कार्यक्रम फलदायी हुने बताए । उनले सार्वजनिक स्थानमा मात्रै नभई सबैले आ–आफ्नो घर परिसरमा वृक्षारोपण गर्न सके त्यसले वातावरणमा समेत उत्कृष्ट प्रभाव पार्ने जनाउँदै रोपेका विरुवाहरुको संरक्षण गर्न समेत उनले आग्रह गरे ।

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङले ओलम्पिक दिवस विश्वभर पर्वको रुपमा मनाइने भएकोले पनि खेलकुद क्षेत्र यो दिनको विशेष महत्व रहेको उल्लेख गरे । उनले रंगशाला परिसरमा रोपिएका विरुवाहरु संरक्षण गर्नका लागि सबैको चासोको विषय रहनु पर्ने जनाए ।

जुन २३ अन्तर्राष्ट्रिय ओलम्पिक दिवस यो वर्ष ‘प्रेरणा, समुदाय र खुसीका लागि संगै अगाडी बढौं’ भन्ने नाराका साथ मनाइदै । सोही अवसरमा शुभकामना दिंदै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले भनेका छन्–“खेलकुद समाज परिवर्तनको सशक्त माध्यम हो । यसले मित्रता, सहकार्य र अनुशासनका मूल्यहरू स्थापित गर्छ । अबको आवश्यकता भनेको वातावरणप्रति पनि उत्तरदायी खेलकर्मी बन्नु हो । यसै सोच अनुरूप पोखरा रंगशालालाई हरियाली बनाउने उद्देश्यले फलफुलका बिरुवाहरू रोप्दै वातावरणीय सन्देश दिने प्रयास गरेका छौं । साथै, विश्व तापक्रम वृद्धि नियन्त्रणमा खेलकुद क्षेत्रले पनि सशक्त भूमिका खेल्नुपर्ने सन्देश दिनु जरुरी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close