म्याग्दीको बेनीमा परम्परागत तारा खेल र ठेलो खेलको तयारी सुरु

पोखरा स्पोर्टस । म्याग्दीको बेनीमा यही जेठ १८ र १९ गते परम्परागत तारा खेल तथा ठेलो प्रतियोगिता २०८१ को तयारी सुरु भएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषदले विगत तीन वर्ष देखि गण्डकीका परम्परागत खेलको संरक्षण एवं प्रवर्द्धनका लागि सुरु गरिएको अभियान अन्तर्गत उक्त प्रतियोगता हुन लागेको हो । म्याग्दीको बेनीमा आयोजना हुने परम्परागत तारा खेल जेठ १८ र १९ गतेसम्म संञ्चालन हुनेछभने ठेलो प्रतियोगिता जेठ १९ गते संञ्चालन हुनेछ । प्रदेशका ११ वटै जिल्लालाई समेट्ने गरी परम्परागत तारा खेल तथा ठेलो प्रतियोगिता संञ्चालन गर्ने तयारी सुरु गरेको प्रदेश खेलकुद परिषदका सदस्य एवं परम्परागत खेलका संयोजक योगेन्द्र शेरचनले जनाएका छन् ।

परिषदले एक सूचना मार्फत सहभागिताका लागि आग्रह गर्दै हिमाली जिल्ला मनाङ र मुस्ताङ सहित म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा , तनहु, गोरखा, लमजुङ र नवलपुरबाट तारा खेल तथा ठेलो प्रतियोगितामा खेलाडी पठाउन अनुरोध गरिएको सदस्य शेरचनले बताए । उनले भने–“हामीले सबै जिल्लामा सहभागिताका लागि अनुरोध गरेका छौं । परम्पराबाट खेलिंदै आएका खेलहरुको संरक्षणका लागि यो प्रतियोगितामार्फत यी खेलका महत्वका बारेमा समाजमा उजगार गर्न चाहन्छौं ।”

मनाङ, मुस्ताङ हुँदै तेस्रो सस्करण म्याग्दीमा आयोजना हुन लागेको प्रतियोगिताले परम्परागत तारा खेल र ठेलो खेलको विकासका लागि समेत उत्तिकै प्रभावकारी हुने शेरचनले बताए । उनले भने–“मोर्डन आर्चरीले परम्परागत तारा खेल ओझेलमा छ । हामी स्थानिय सामाग्री प्रयोग गरेर निर्माण गरिएका धनुषबाणको प्रयोग गरेर यो खेलको संरक्षण हुनुपर्छ भन्ने अर्को सन्देश दिन चाहन्छौं भने सदियौं देखि मेलापातहरुमा खेलिंदै आएको ठेलो खेल समेत यूवा पुस्ताहरुमा पुर्याउन परिषद प्रयासरत छ ।”

तारा खेलतर्फ प्रथम, द्वितिय र तृतिय हुने टिमले क्रमश नगद रु ७५ हजार, ५० हजार र ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वश्रेष्ठ धर्नुधरले नगद रु ५ हजार र विशिष्ट धर्नुधरले नगद रु ३ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसै गरी ठेलो खेलमा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीले क्रमश नगद रु १५ हजार,  १० हजार र ५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

गत वर्ष मुस्ताङको लेतेमा सम्पन्न तारा खेलमा बागलुङ उपाधि जितेको थियो । बागलुङले म्याग्दीलाई झिनो २ अंकले फाइनलमा पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close