
पोखरा स्पोर्टस । खेलकुदको विकासमा योगदान पुर्याउँदै आएको नेपाल स्पोर्ट्स सेन्टर (नेकोस) ले आफ्नो स्थापना दिवसको अवसरमा असार ७ गतेदेखि ११ गतेसम्म हेटौडामा “राष्ट्रिय महिला भलिबल प्रतियोगिता” तथा “राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता–२०८२” आयोजना गर्ने भएको छ ।
नेकोसका अनुसार भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमण्ड स्पोर्ट्स क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश गरी ६ टोलीको सहभागितामा हुनेछ ।
रोलर स्केटिङमा भने देशभरका १२ वर्ष मुनीका महिला तथा पुरुष, १२ वर्ष माथी गरी कुल चार वटा इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
नेकोसको वृहद खेलकुद प्रतियोगिता असार ७ गतेदेखि भलिबल सुरु हुनेछ भने पुरस्कार वितरण समारोहत असार ११ गतेको लागि तय गरिएको छ।
नेकोसले प्रतियोगिताका लागि अनुमानित ८० लाख रुपैयाँ खर्च हुने जनाएको छ । महिला भलिबल प्रतियोगितामा विजेताले प्रथम पुरस्कार ५ लाख, द्वितीय ३ लाख र तृतीय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार वापत ५१ हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै हरेक विद्यामा उत्कृष्ट हुनेलाई जनही नगद रु ५ हजार प्रदान गरिने छ ।
त्यस्तै रोलर स्केटिङ तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
