
पोखरा, पोखरा रंगशाला भित्रको बैकल्पिक फुटबल मैदानको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश गुरुङले अब मैदान सम्याउने काम सकिएको बताउँदै एक दुई दिनमा मैदानमा दुवो रोप्न सुरु गरिने बताए ।
कोभिड–१९ कोरोनाका कारण मुलुक लकडाउनमा भएको पनि ३१ औं दिन पुग्दैछ । यहि अवधीमा मैदानमा निर्माण कार्य शुरु गरिएको हो । मैदान निर्माणमा २४ जना मजदुर र रंगशालामा खेलकुदका प्रशिक्षकहरु समेत लागि परेका छन ।

“अब पर्सी बाट हामी यो मैदानमा दुवो रोप्न सुरु गर्नेछौं” राखेप सदस्य गुरुङले भने–“निकै मेहनत गरेर यो लकडाउन अवधीमा यो मैदान सक्ने काम सक्यौं ।” उक्त मैदानमा खेलाडीलाई स्वच्छ पिउने पानीको व्यवस्था संगै चेन्जिङ रुम र मञ्च पनि बनाइने उनले उल्लेख गरे । उक्त बैकल्पिक मैदानको निर्माण सम्पन्न पछि स–सना प्रतियोगिताहरु आयोजनागर्न सहज हुने उनको भनाई थियो ।
मैदान निर्माणमा जुटेका सुदिप आचार्य र सुजन आचार्य दाजुभाई हुन । सुजन र सुदिप दुवै श्क्वायसका खेलाडी समेत हुन । व्यवसाय समेत गर्दै आएका आचार्य दाजुभाई उक्त मैदान निर्माण गर्न एक महिना देखि स्वयसेवीका रुपमा खटिएका छन । उनीहरु दुवैले लकडाउनको समय मैदान निर्माणका लागि जुट्न पाउँदा खुसी लागेको अनुभव सुनाए ।

त्यस्तै मैदान निर्माणमा स्वयसेवी रुपमा खटिएका अर्का करातेका प्रशिक्षक शिव गुरुङ र केन्पोकाईका प्रशिक्षक हरि खडका हुन । “सबैको काम बाँडफाँड गरेका छौं” प्रशिक्षक खडकाले भने–“घरमा त्यतिकै समय खेर फाल्नु भन्दा यहाँ काममा खटिदा राम्रो हुने ठानेर यतै खटियौं, अब त मैदानको काम पनि सकिन लाग्यो ।”
सुदिप र सुजन आचार्य के भन्छन त भिडियोमा
बैकल्पिक मैदानको काम सकेर अब मुख्य फुटबल रंगशालाको काम सुरु गरिने रोखप सदस्य गुरुङले बताए । “अव पर्सि बाट यहाँ खटिएका मजदुरहरुलाई मुख्य रंगशालामा स्ल्याप राख्न र अन्य काममा खटाउँदै छौं;–उनले भने । मुख्य रंगशालाको विग्रिएको दुवो निकालेर बरमुडा दुवो रोपिने उनले जानकारी दिए । उनले भने–“सागको बेला हतारमा काठमाडौको दुवो रोपेका थियौं, त्यो विग्रिएको छ अव बरमुडा दुवो रोप्दैछौ ।” बरमुडा दुवो पहिलानै भारत बाट ल्याएर स्टोकमा राखिएको थियो ।

लकडाउन खुले संगै नवौ राष्ट्रिय खेलकुद २०७७ का लागि पोखरा रंगशालामा निर्माणका लागि स्विमिङ पुल र सुटिङ रेन्जको पनि टेन्डर आह्वान हुने राखेप सदस्य गुरुङले जानकारी दिए । “अब लकडाउन खुले पछि रंगशालाको निर्माणको कामले गति लिन्छ” उनले भने । यस संगै पोखरा रंगशालाको सुन्दरता बढाउन सबै तर्फ रुख रोप्ने, फुलहरु रोप्ने र झाडीको फडानी समेत गरिएको छ ।
