
पोखरा स्पोर्टस । अमेरिकामा छरिएर रहेका कस्केलीहरुको छाता संस्था कस्केली समाज अमेरिकाले पोखरा अन्तर्राष्ट्रिय म्याराथन संग सहयोग गर्ने भएको छ ।
समाजका अध्यक्ष भरत बराइलीले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका पदाधिकारीहरुको भेटमा उक्त कुरा जानकारी गराएका हुन् । गत फागुन ३ गते सम्पन्न १९ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागिता जनाएका अध्यक्ष बराइलीले पोखरा म्याराथन संग जोडिन पाउनु कस्केली समाजका लागि समेत गौरवको विषय हुने बताउँदै भावी सन्ततीलाई समेत जोड्न यो सहकार्य महत्वपूर्ण हुने बताए ।

कर्मथलो अमेरिका फर्किने तयारीमा समेत रहेका पोखरा वडा नं १५ निवासी बराइलीले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई हरेक वर्ष नगद रु १ लाख सहयोग गर्ने बताए । उनले भने–“यो हाम्रो सहयोग सानो हो । तर आगामी दिनमा यो सहयोग बढ्ने छ । पोखराको खेलकुद क्षेत्रमा गौरवमयी यात्रा पार गरेको पोखरा अन्तर्राष्ट्रिय म्याराथन संग जोडिदै यहाँ हुने सामाजिक अभियानहरुमा समेत अमेरिकामा रहेका कस्केलीहरुलाई समेत यो अभियानमा जोड्न कास्की समाजको प्रयास रहनेछ ।”
सो अवसरमा मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले अध्यक्ष बराइलीसहित सिङ्गो कास्केली समाज अमेरिकालाई आभार व्यक्त गर्दै यो सहयोगले दुई संस्थाबीचको सहकार्यलाई बलियो बनाउने पुलको रुपमा कार्य गर्ने बताए । उनले भने–“म मञ्चकोतर्फबाट कस्केली समाजका अध्यक्ष बराइली ज्यूसहित सिङ्गो अमेरिकामा रहेका कस्केली परिवार प्रति आभार व्यक्त गर्दछु । यो सहयोगले म्याराथनलाई अझै परिस्कृत रुपमा सम्पन्न गर्न सहयोग पुग्नेछ ।”
सो अवसरमा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरूङ, सल्लाहकार महेश गुरूङ, मञ्चका आजिवन सदस्य निरज थापा, भरत बराइलीका पिता समाजसेवी गणेश बराइलीलगायतको सहभागिता रहेको थियो ।
कस्केली समाज अमेरिका सान २००६ मा स्थापित भएको थियो । नारायण थापा संस्थापक अध्यक्ष रहेको समाजले अमेरिकामा रहेका कस्केलीहरु बीच सहकार्य गर्दै विभिन्न सांस्कृति एवं समाजिक कृयाकलापको अभियानमा सक्रिय रहेको छ ।
