
पोखरा स्पोर्टस । १४ औं कास्की जिल्लास्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट पोखरा रंगशालामा सुरु भएको छ ।
कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितालाई गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले एक कार्यक्रमका विच उद्घाटन गरेकी हुन् । सो अवसरमा बोल्दै मन्त्री सिम्खडाले हरेक खेलाडीले अनुशासनलाई जिवनको अङ्ग बनाउनु पर्ने कुरामा जोड दिंदै प्रतियोगिता जित्न र पदक हासिल गर्न मात्रै नभई सहभागिता हुने विषय पनि ठूलो रहेको बताइन् ।

अहिलेका यूवाहरु भोलिको देशका कर्णधार समेत रहेको जनाउँदै अनुशासन नै जिवनको मुख्य सम्पती रहेको जनाउँदै भनिन्–“खेल क्षेत्र कहिले पनि हरेश नखाने क्षेत्र हो । तपाईहरुलाई यो हिमाल र देश चिनाउने कर्णधार हो । त्यसैले पनि अनुशासन आवश्यक छ । त्यो अनुशासन न अरु कसैलाई दिन सक्नुहुन्छ न अरु कोही संग माग्न सक्नुहुन्छ । यो प्रतियोगिताबाट पक्कै पनि यहाँहरुले जिवन मार्ग बनाउने अनुशासन सिकेर फर्किनुहुनेछ ।”

प्रदेश खेलकुद परिषद गण्डकीकी अध्यक्ष समेत रहेकी मन्त्री सिम्खडाले खेलाडीहरुलाई उच्च मनोवलका साथ खेल प्रतियोगितामा सहभागित जनाउन आग्रह गर्दै खेलकुद अनुशासनको क्षेत्र समेत भएको बताउँदै भनिन–“म आफू पनि खेलप्रेमी हो । यहाँ खेलाडीहरुलाई हेर्दा मेरो जिवनका ति क्षणहरु सम्झिरहेकी छु । यहाँहरु विभिन्न खेलकुदमा सहभागि हुनुहुँदैछ । तपाई हारमा हरेश नखाई प्रतियोगितामा उच्च मनोबलका साथ खेल्नुहोस । मेरो शुभकामना छ ।”
कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति कास्कीका समन्वय प्रमुख लिलाधर पौडेलले प्रतियोगिताले खेलाडी उत्पादनमा भूमिका खेलेको बताए ।

सो अवसरमा आफ्ना धारणा राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले राष्ट्रपति कप प्रतियोगिता राष्ट्रिय प्रतिक संग जोडिएको बताए । उनले भने–“टोल–टोल र गाउँ–गाउँ, जिल्ला, प्रदेश र राष्ट्रिय प्रतियोगिता सम्म पूग्न मात्रै नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पुग्ने महत्वपूर्ण भूमिका यो प्रतियोगिताले खेलेको छ ।” खेलकुद सभ्य र अनुशासित समाजको निमार्णमा समेत उत्तिकै महत्वपूर्ण रहेको बताउँदै खेलाडीहरुले पाउने अवसर र सुविधामा कमि भएको महशुस भएकोले पनि तिनै तहको सरकारले यसबारे गम्भिर रुपमा समिक्षा गर्दै अघि बढेको समेत उनले बताए ।
गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि खेलाडी कल्याणकारी कोषको व्यवस्था, ओलम्पियनहरुलाई मासिक भत्ताको सुविधा र खेल पदक जस्ता महत्वपूर्ण नयाँ योजनाहरु अघि सारेको जनाउँदै सदस्य सचिव शर्माले गण्डकी प्रदेशमा सुचिकृत भएका ५९४ जना रेफ्रि तथा प्रशिक्षकहरुको चाँडै नै आकस्मिक विमा र छात्रवृति समेत प्रदान गरिने गरी परिषदले तयारी गरिरहेको जनाए ।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सम्पन्न मार्च पासमा पोखरा महानगरपालिका प्रथम, मादि गाउँपालिका दोश्रो र माछापुच्छ्रे गाउँपालिका तेश्रो भएको छ ।
शनिबार सम्पन्न हुने प्रतियोगितामा चार गाउँ पालिका र पोखरा महानगर पालिकाका गरी विभिन्न ६ वटा खेलमा कूल ३० पदकका लागि प्रस्पिर्धा गर्ने छन् । चारवटा गाउँ पालिकाले उशु र करातेमा सहभागि नगराउँदा पोखरा महानगरको टिम स्वतः छनौटमा परेको छ भने तेक्वान्दोमा पोखरा महानगर र माछापुच्छ्रेको सहभागिता रहेको छ ।
त्यसै गरी एथलेटिक्स, भलिबल र कबड्डीमा भने सबै पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताबाट प्रदेशस्तरिय प्रतियोगिताका लागि कुल १०८ जना खेलाडी छनौट हुनेछन् ।
