पोखरामा ‘वुमन्स सुपर कप टि–२० क्रिकेट’ हुँदै

पोखरा स्पोर्टस/सन्देश श्रेष्ठ । पोखरामा क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप आयोजना हुने भएको छ । यस प्रकारको महिला लक्षित टि२० क्रिकेट पोखरामा पहिलो पटक आयोजना हुन लागेको हो । 

पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बैशाख ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।

प्रतियोगितामा तीन टीम सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा फिस्टेल अप्मस्ट, ईस्लामिया कंकरस र पोखरा फिनिक्स गरेर तीन टीमले सहभागिता जनाउने छन् । तीन वटै टिमले छुट्टाछुट्टै टिमसँग २÷२ वटा खेल खेल्ने जनाइएको छ ।

गत हप्तामात्र सम्पन्न अन्तर विद्यालय पोखरा महानगरपालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट ३६ जना खेलाडी छनौट गरिएको थियो । सो प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई विभाजन गरेर ३ टीम बनाई सुपर कप आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

सुपर कप च्याम्पीयनसीपबाट उत्कृष्ट १४ जना खेलाडी छनौट गरेर पोखरा महानगरपालिकाको टिम निर्माण गरिने छ । सोहि टिमले केहि समयपछि हुने देशका ६ वटा महानगरपालिकाबीच हुने प्रतियोगितामा सहभागिता समेत जनाउने छ ।

यसैबीच, प्रतियोगिताका लागि तीन वटै टिमलाई आयोजकले जर्सी हस्तान्तरण गरेको छ । तीन वटै टिमका टिम क्याप्टेनलाई पोखरा महानगरपालिका क्रिकेट संघको तर्फबाट क्रिकेट एशोसियसन नेपाल क्यान तथा आईसिसीका क्रिकेट अम्पायर मोहम्मद सफिक (समीर खान)ले जर्सी हस्तान्तरण गरेका हुन् ।

जर्सी हस्तान्तरण लगत्तै उनले सुपर कप वुमन्स च्याम्पीयनसीपको ट्रफीपनि सार्वजनिक गरेका थिए ।

सो अवसरमा अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर खानलाई पोखरा महानगरपालिका क्रिकेट संघले कदर पत्रद्वारा सम्मान गरेको छ ।

प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी प्रदान गरिने पोखरा महानगरपालिका क्रिकेट संघका सचिव कपिलदेव गौतमले जानकारी दिए । प्रतियोगितामा प्लेयर अफ दी सिरिज र हरेक दिनको प्लेयर अफ दी म्याचलाई पनि ट्रफी प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close