१५औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड भलिबलतर्फ गण्डकीले जित्यो स्वर्ण

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको छात्र भलिबल टिमले काठमाण्डौमा जारी १५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जितेको छ ।

गण्डकीले भर्खरै सम्पन्न फाइनलमा लुम्बिनी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएको हो । निकै प्रतिस्पर्धा रहेको फाइनल खेलमा गण्डकीले पहिलो सट २७–२५ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट भने १८–२५ मा गुमाउन पुग्यो ।

गण्डकीले अन्तिम दुई सेटमा आफ्नो जितको लय कायम गर्दै २५–२० र २५–१८ ले जित्दै स्वर्ण पदक जित्न सफल भएको टिमका प्रशिक्षक तेजेन्द्र बाँनियाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

जुनियर भलिबलमा कमजोर रहेको गण्डकीलाई खेलाडी छनौट देखि फाइनल सम्म पुर्याउन प्रशिक्षक बाँनियाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले भने–“गोरखामा भएको प्रदेशस्तरीय खेलमा टिमको छनौट हाम्रो लागि सकशपूर्ण थियो । तर हामीले सन्तुलित टिम बनाउनु थियो । समय छंदै थिएन । हामीले केन्द्रिय प्रतियोगितामा जित्ने खेलाडी चयन गर्नु पनि थियो । हामी संग बन्द प्रशिक्षणका लागि समय पनि पाएनौं । गोरखाबाट सोझै हामी काठमाण्डौ पुग्यौं । अन्ततः अपराजित रहँदै हामीले फाइनलमा जित हासिल गरेका छौं ।”

यो जितका लागि प्रशिक्षक बाँनियाले खेलाडीहरुको अथक मेहनत भन्दै खेलाडीहरुको प्रशंसा समेत गरेका छन् । “गण्डकी प्रदेश भलिबल हवको रुपमा चिनिन्छ । तर केही वर्ष यता हामी राष्ट्रिय प्रतियोगितामा कमजोर थियौं । अहिले सबैको मेहनतले एउटा यात्रा पुरा भएको छ । अब यी कलिला खेलाडीहरुलाई सिनियर भलिबलको गन्तव्य सम्म अघि बढाउन सबैको उत्तिकै सहयोगको खाँचो छ,”–प्रशिक्षक बाँनियाले भने ।

प्रशिक्षक बानियाले आफूलाई जुनियर भलिबल टोलीको प्रशिक्षणको जिम्मेवारी दिएकोमा प्रदेश खेलकुद परिषद गण्डकी र गण्डकी प्रदेश भलिबल संघलाई समेत आभार व्यक्त गरेका छन् ।

गण्डकीको टिममा सुप्रिम भुजेल, अप्सन गुरुङ, सुजल बसेल थापा, अजय सुनार, नरेन्द्र लुङ्गेली, भिम बहादुर गाहा, मोहन पटैया मगर, दिलिप रिसिमि, मनोज सुगुर पाक, आक्रोन मुस्लिम रहेका थिए भने प्रशिक्षकमा तेजेन्द्र बानिया र टिम व्यवस्थापकमा कृष्ण गुरुङ रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close