
पोखरा स्पोर्टस । नेपाली खेलकुदमा खेलाडी उत्पादनको मुख्य धरोहरको रुपमा स्थापित जुनियरतर्फको राष्ट्रपति रनिङ शिल्डमा २५ वर्ष पछि गण्डकी प्रदेशकी नारायणी भण्डारीले राष्ट्रिय किर्तिमान स्थापित गरेकी छन् ।
काठमाण्डौ दशरथ रंगशालामा जारी १५औं केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत छात्रा ८०० मिटर दौडमा नारायणीले २५ वर्ष अघि टिका चौधरी ले बनाएको किर्तिमान तोडेकी हुन् । २०५७ सालमा टिकाले २ मिनेट २८.०९ सेकेण्डमा दौड पुरा गरी किर्तिमान बनाएकी थिइन् ।
तर आज दशरथ रंगशालामा नारायणीले सबैलाई चकित पार्दै सो दौड २ मिनेट १७.३० सेकेण्डमा पुरा गरिन् । उनी संग प्रतिस्पर्धी थिइन् बागमतीकी भगवती खड्का । भगवतीले २ मिनेट १९.४ सेकेण्डमा दौड पुरा गरी रजत पदक जितेकी थिइन् ।
२५ वर्ष पछि नारायणीले बनाएको किर्तिमानी दौडका लागि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले बधाई दिएका छन् । उनले नारायणीको किर्तिमानी दौडले सबै यूवा खेलाडीका लागि समेत प्रेरणादायी र स्मरणिय रहने बताउँदै पछिल्लो समयमा गण्डकीको एथलेटिक्स खेलले गण्डकीको शाख जोगाउन समेत भूमिका खेलेको बताए । गत संस्करणहरु भन्दा यो संस्करणमा एथलेटिक्सतर्फ गण्डकीको उत्कृष्ट नतिजा प्राप्त रहेको बताउँदै उनले नारायणीको आगामी खेल जिवनका लागि शुभकामना समेत दिए ।
यूवा खेलाडी उत्पादनका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्वपूर्ण प्रतियोगिताको रुपमा रहेको बताउँदै सदस्य सचिब शर्माले भने–“यो यस्तो प्रतियोगिता हो जहाँ विद्यालय, पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्र सम्म खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने मात्रै नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐरिना सम्म पुग्न यो प्रतियोगिताको भूमिका रहेको छ ।”
तर यस्तो महत्वपूर्ण प्रतियोगिताका लागि संघिय सरकारले बजेट विनियोजन नगर्दा खेलाडी छनौट प्रक्रियामा समस्या रहेको बताउँदै सदस्य सचिब शर्माले ठूलो खर्च गरेर खेलाडी केन्द्र सम्म पुर्याउन प्रदेश खेलकुद परिषदले लगानी गरे पनि अन्त्यमा राष्ट्रिय खेलकुद परिषदले त्यसको जस लिने बताए । खेलकुदमा अझै पनि संघियताको मर्म अनुरुप कार्य हुन नसकेको बताउँदै राखेपले जुनियर खेलकुद र राष्ट्रपति रनिङ शिल्डका लागि सबै पालिका, जिल्ला र प्रदेशका लागि बजेट विनियोजन गर्नुपर्ने कुरा औंल्याए ।
