गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा कास्कीको कब्जा, १६औं संस्करण बाग्लुङमा हुने

पोखरा स्पोर्टस । गोरखामा सम्पन्न १५ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड कास्कीले उचालेको छ ।

पहिलो पटक गोरखामा आयोजित उक्त प्रतियोगितामा कास्कीले २७ स्वर्ण, १० रजत र ११ काश्य पदकका साथ उपाधि जितेको हो । यो सहित कास्कीले तेस्रो पटक उपाधि जित्दै रनिङ शिल्ड माथि नै कव्जा जमाएको छ ।

१६औं राष्ट्रपति रनिङ शिल्ड बाग्लुङमा हुने
यसै बीच १६ औं राष्ट्रपति रनिङ शिल्ड बाग्लुङमा हुने भएको छ । १५ औं राष्ट्रपति रनिङ शिल्ड समापन भए लगतै बाग्लुङलाई झण्डा हस्तान्तरण गरिएको सदस्य सचिब श्रीधर शर्माले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“यस अघि गोरखाले झण्डा ग्रहण गरेको थियो । गोरखाले आफ्नो कार्य सफलता पूर्वक सम्पन्न गरेको छ । अब पालो बाग्लुङको हो ।”

हरेक वर्ष आयोजना हुने राष्ट्रपति रनिङ शिल्डले त्यस जिल्लाको खेलकुदमा नयाँ माहोल तयार हुनुका साथै खेलकुदका पूर्वाद्धार निर्माण तथा मर्मतमा समेत भूमिका रहने सदस्य सचिब शर्माले जनाए । उनले भने–“त्यहाँ खेलकुदको ए नयाँ उभार आउने छ । सामाजिक क्षेत्रमा संगै प्रशासनिक एवं विद्यालयहरुमा समेत यसको प्रभाव रहन्छ । साथै त्यहाँका खेल पूर्वाद्धारहरुको अवस्थाका बारेमा समेत सबैले बुझ्ने र कसरी राम्रो गर्न सकिन्छ भन्ने ध्यान जान्छ ।”

कास्कीले एथलेटिक्सतर्फ सर्वाधिक ११ स्वर्ण पदक जितेको छ भने तेक्वान्दोतर्फ ९, उशुमा ५ तथा कब्बड्डी र करातेमा १–१ स्वर्ण पदक जितेको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङले जानकारी दिए ।

त्यसै गरी म्याग्दी जिल्ला उपविजेता बनेको छ । म्याग्दी ११ स्वर्ण, ७ रजत र ९ काश्य पदक जित्दा तेस्रो स्थान प्राप्त गरेको बाग्लुङले १० स्वर्ण, १० रजत र १० काश्य पदक जित्न सफल भएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

प्रतियोगितामा आयोजक गोरखा भने चौथो भएको छ । प्रतियोगितामा ६ खेलमा १० जिल्लाका ९३८ खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा मुस्ताङ जिल्लाले सहभागिता जनाएन । मुस्ताङ जिल्लामा कर्मचारी अभावका कारण छनौट खेल हुन नसक्दा सहभागिता हुन नसकेको जनाइएको छ ।

सो प्रदेशस्तरीय प्रतियोगिताबाट विभिन्न ६ खेलका ४७ छात्र र ४७ छात्रा गरी ९४ जना खेलाडीहरुले भोली (बुधबार)बाट हुने केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउने भएको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए । खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक गरी गण्डकीबाट ११५ जना काठमाण्डौ प्रस्थान गरेको परिषदले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close