
पोखरा स्पोर्टस । आइसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल बुधबारदेखि शुरु हुदैछ । इङल्याण्डको लर्ड्स स्टेडियममा हुने यो फाइनल खेल जुन ११ देखि १५ सम्म हुदैछ ।
यस पटकको विश्व टेस्ट च्याम्पियनसिपमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन् । २०२३ देखि २०२५ सम्मको विश्व टेस्ट च्याम्पियनसिप साइकलमा शिर्ष स्थानमा रहेको दक्षिण अफ्रिका र दोस्रो स्थानमा रहेको अस्ट्रेलिया फाइनलमा खेल्न लागेका हुन् ।
हाल आइसीसीको टेस्ट वरियतामा अस्ट्रेलिया शिर्ष स्थानमा रहेको छ भने दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ ।
टी(२० क्रिकेट लोकप्रिय बनेको अहिलेको समयमा टेस्ट च्याम्पियनसिपले क्रिकेटप्रेमीलाई टेस्ट क्रिकेटप्रतिको लगाव बढाएको विश्लेषण गरिएको छ । आइसीसीले टेस्ट क्रिकेटलाई रोचक बनाउन हरेक दुई बर्षमा टेस्ट च्याम्पियनसिप फाइनल गर्ने गरी विश्व टेस्ट च्याम्पियनसिपको अवधारणा ल्याएको हो ।
विश्व टेस्ट च्याम्पियनसिपको शुरुवात २०१९ देखि भएको थियो । पहिलो फाइनल २०२१ मा खेलिएको थियो र पहिलो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्यूजील्याण्डले जितेको थियो । फाइनलमा न्यूजील्याण्डले भारतलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
त्यस्तै दोस्रो विश्व टेस्ट च्याम्पियनसिपको फाइनल २०२३ मा भएको थियो । सो फाइनल अस्ट्रेलियाले जितेको थियो । दुवै पटक फाइनलमा भारत पराजित भएको थियो । यस फाइनलमा अस्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गरेको थियो ।
यस पटक भारत भने अंक तालिकामा तेस्रो हुदै फाइनलमा पुग्न असफल भएको थियो ।
विश्व टेस्ट च्याम्पियनसिपको विजेतालाई आइसीसीले ३.६ मिलियन डलर पुरस्कार दिने घोषणा गरेको छ भने उपविजेताले २।१६ मिलियन डलर पुरस्कार दिने भएको छ ।
विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेल्ने अष्ट्रेलियाको टिम
प्याट कमिन्स (कप्तान), उस्मान ख्वाजा, साम कोन्स्टास, मार्नस लाबुस्चेन, स्टिभ स्मिथ, ट्राभिस हेड, एलेक्स केरी (विकेटकिपर/ब्याट्सम्यान), जोश इङ्गलिस (विकेटकिपर/ब्याट्सम्यान), क्यामरुन ग्रिन, ब्यू वेबस्टर, मिचेल स्टार्क, जोश हेजलवुड, स्कट बोलान्ड, नाथन लियोन र म्याट कुह्नेम्यान ।
विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेल्ने दक्षिण अफ्रिकाको टिम
टेम्बा बाभुमा (कप्तान), टोनी डे जोर्जी, रायन रिकेलटन (विकेटकिपररब्याट्सम्यान), एडेन मार्कराम, डेभिड बेडिंगहम, ट्रिस्टन स्टब्स, काइल भेरेन (विकेटकिपर/ब्याट्सम्यान), वियान मुल्डर, मार्को जानसेन, कोर्बिन बोश, कागिसो रबाडा, लुंगी एनगिडी, डेन प्याटरसन, केशव महाराज र सेनुरन मुथुसामी ।
