पोखराको बसुन्धरा पार्क : बन्ला त अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम ?

पोखरा स्पोर्टस । पोखरामा लामो समय देखि दुई क्रिकेट खेल मैदान आवश्यक्तालाई लिएर लामो समय देखि चर्चा चलिरहेको छ । यस अघि पोखरा वडा नं १ हालको प्रदेश सभा भवनको पश्चिमतर्फको खाली ठाउँ लामो समय देखि प्रशिक्षण स्थलको रुपमा रहँदै आएको थियो । तर प्रदेश सभा भवन बने देखि नै सुरक्षाका कारण सो मैदानका सबै गतिविधि बन्द हुन पुगे ।

यस अघि पोखरा रंगशालाको क्रिकेट खेल मैदान र वडा नं १ को खेल मैदान गरी दुई अलग–अलग खेल स्थानमा एकै दिन एकै पटक दुई प्रतियोगिताहरु सञ्चालन हुने अवस्था रहेकामा हाल आएर पोखरा रंगशालाले मात्रै धान्दै आएको छ । सो समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले चालु आवमा तनहुँस्थित गाउँफर्क मावीको खेल मैदानलाई प्रदेशस्तरीय क्रिकेट खेल मैदानको रुपमा अघि बढाउन गरेको प्रयास र बजेट अघि बढ्न सकेन । स्थानियहरुको विवादका कारण निर्माण कार्य अघि बढ्न सकेन ।

त्यस यता पोखरालाई केन्द्र बनाउँदै दुई वटा अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेल मैदान निर्माणको विषय उठिरहेको छ । विश्ेष गरी पोखरा रंगशाला विश्वकै दशौं स्थानमा रहेकोले पनि यहाँ आएर खेल्न चाहने टिम र खेलाडीहरुको लर्को नै छ । क्रिकेटको बढ्दो लोकप्रियताले पनि एक मात्र खेल मैदानले धान्ने अवस्था समेत छैन । कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक पर्ने प्रशिक्षण खेल मैदानका अभावले त्यो विषय पोखराका लागि कल्पना भन्दा बाहिरको विषय पनि हुन सक्छ ।

यसै क्रममा अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानका लागि उपयूक्त मैदान बन्न सक्छ पोखरा महानगर पालिका वडा नं ६ स्थित बसुन्धरा पार्क । प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल बसुन्धरा पार्क खुल्ला ठाउँ भएकोले पनि क्रिकेट मैदान बनाउँदा कुनै असर नहुने जिकिर गर्छन । फेवातालको किनारमा नै अवस्थित बसुन्धार पार्कलाई क्रिकेट खेल मैदानको रुपमा विकास गर्न सके यसले नेपाली क्रिकेटमा नयाँ आयाम छाउने अध्यक्ष सिग्देल बताउँछन् ।

सोही विषयलाई लिएर गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले गण्डकी प्रदेश सभामा आफ्नो धारणा राखे । गण्डकी प्रदेश सभाको आठौ अधिवेशन एवं नवौ बैठकमा गण्डकी प्रदेश सरकारको अर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै गण्डकी प्रदेश सभाका सदस्य बरालले बसुन्धरा पार्कलाई अन्तर्राष्ट्रिय खेल मैदानको रुपमा विकासका लागि प्रदेश सरकारलाई आग्रह गरे । उनले भने–“अब भुकम्प आउँदाका लागि मात्रै पार्कको संरक्षण गर्ने होइन त्यहाँ अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेर खेलकुद पर्यटनलाई प्रवर्द्धन गर्न सक्छौं ।”

प्रदेश सभामा बोल्दै सांसद बरालले बसुन्धरा पार्कलाई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउनु पर्ने आवाज संसदमा पहिलो पटक उठेको हो । यदि सांसद बरालले संसदमा उठाएको यो आवाज सहि हो भने प्रदेश सरकारले गाँठो फुकाउने बेला आएको छ । यस अघि बसुन्धरा पार्क माथी कब्जा जमाउने प्रयास पटक पटक भएका छन् । तर स्थानियहरुको दवावको कारण त्यो सम्भव हुन सकेको छैन । यदि क्रिकेट स्टेडियम निर्माण हुने हो भने त्यसले समग्र बैदामको मात्रै नभइ पोखराको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह हुन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close