तेक्वान्दोको ‘हाइपर्फमेन्स’ प्रशिक्षण पोखरामा सम्पन्न

पोखरा स्पोर्टस । तेक्वान्दोको पाँच दिने हाइपर्फमेन्स प्रशिक्षण पोखरामा सम्पन्न भएको छ ।

नेपाल तेक्वान्दो संघको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दोको समन्वयमा प्रशिक्षण सम्पन्न भएको हो । पाँच दिने प्रशिक्षणको समापन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले यस प्रकारका प्रशिक्षणले यूवा खेलाडीहरुलाई नयाँ विषय बस्तुमा आधारित रहेर प्रशिक्षण गर्न पाउनु महत्वपूर्ण रहेको बताए ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमा कार्यभार सम्हाल्न आएका सचिव पौडेल पहिलो दिन नै पोखरा रंगशालामा आयोजित तेक्वान्दोको हाइपर्फमेन्स प्रशिक्षणको समापन कार्यक्रममा सहभागि भएका हुन् । सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै सचिव पौडेलले खेलकुदको विकासका लागि मन्त्रालय गम्भिर रहेको बताउँदै सहयोग तथा सहजीकरणका लागि मन्त्रालय तयार रहेको उल्लेख गरे । शारिरिक विकास नभए सम्म मानसिक विकास सम्भव नहुने बताउँदै सचिव पौडेलले तेक्वान्दो खेलले अन्तर्राष्ट्रिय स्तरमा समेत पदक ल्याउन सफल खेल भएकोले यसको विकासका लागि प्रशिक्षकहरुले अझै दत्तचित्त भएर लाग्न आग्रह समेत गरे ।

नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडेलले समेत आफ्ना भनाई राखेका थिए ।

सो अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, मन्त्रालयका खेलकुद महाशाखा प्रमुख खिम बहादुर भुजेल, तेक्वान्दो राष्ट्रिय प्रशिक्षक कविराज खड्गी, गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा विभिन्न डोजाङका ३१ जना सहभागिता रहेको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले जानकारी दिए । प्रशिक्षणमा तेक्वान्दोका ३ डान भन्दा माथीका प्रशिक्षकहरुले सहभागिता जनाएका छन् ।

सहभागि हरुलाई किमयोङ विश्वविद्यालय कोरियाका प्राध्यापक तथा प्रशिक्षक पार्क जु सिक र क्वाङ वेय पार्कले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close