‘प्रचण्ड कप’ महिला राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पुरा, दर्शकलाई पहिलो दिन निशुल्क प्रवेश

पोखरा स्पोर्टस । ‘प्रचण्ड कप’ महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । नेकपा माओवादी निकट आयोजक नेशनल स्पोर्टस एकेडेमी र अखिल नेपाल खेलकुद महासंघले सोमबार एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष एवं गण्डकी प्रदेश सभाका पूर्व सांसद दिपक कोइरालाले पोखराको बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाउँदै भोली मंगलबार अपरान्ह साढे २ बजे पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घाटन गर्ने तयारी रहेको जानकारी दिएका छन् । उनले भने–“भोली भव्य समारोहका बीच नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ज्यूबाट प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । तसर्थ म सम्पूर्ण भलिबल खेलप्रेमीहरुलाई प्रतियो्गिता अवलोकनका लागि आउन आग्रह गर्दछु ।”

आयोजकले भोली हुने उद्घाटन खे्ल निशुल्क हेर्ने गरी सुविधा दिने जनाएको छ । अन्य दिनका लागि पहिलो चरणका खेलहरुका लागि २ सय र अन्तिम चरणका खेलहरुका लागि ४ सय टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

जेठ २७ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नेपाल भलिबल संघ र राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक स्वीकृतिमा आयोजना हुन लागेको हो ।

प्रतियोगितामा ६ टिमको सहभागीता निश्चित भएको छ । विभागिय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब, सशस्त्र प्रहरी बलको मात्रै प्रतियोगितामा सहभागिता हुने भएको छ । नेपाल आर्मीै क्लबले अन्तिम समयमा आएर नाम फिर्ता लिएको आयोजकले जनाएको छ । आर्मीले नाम फिर्ता लिए संगै स्टेप रामपुरको सहभागिता हुने निश्चित भएको छ ।

यसै गरी गण्डकी प्रदेश टिम, एभरेष्ट भलिबल क्लब र न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब समावेश छन् । प्रतियोगिता लिग तथा नकआउट चरणमा सञ्चालन गरिनेछ ।

विजेता टिमले रु ६ लाख, उपविजेताले रु ३ लाख, र तेस्रो हुने टिमले रु १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडीले रु २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रु १० हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक टिममा तीन जना विदेशी खेलाडी सम्म खेलाउने व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close