
पोखरा स्पोर्टस । कास्कीका सामुदायिक विद्यालयहरु केन्द्रित छैटौं सृजनाकप छात्र/छात्रा भलिबल मंगलबारबाट पोखरामा सुरू भएको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सुरू भएको प्रतियोगितामा छात्रतर्फ ५ र छात्रातर्फ ५ गरी कुल १० खेल सम्पन्न भएका छन् । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयूक्त आयोजनामा जारी प्रतियोगितामा छात्रतर्फ चार विद्यालय अन्तिम चारमा प्रवेश गरेका छन् ।
छात्रातर्फ सेमीफाइनल प्रवेश गर्नेहरुमा शान्ता मावि, जनप्रिय मावि, छोरेपाटन मावि र कन्या मावि अन्तिम चारमा प्रवेश गरेको कास्की भलिबल संघका महासचिब टंकराज पौडेलले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
सम्पन्न छात्रतर्फको पहिलो खेलमा भद्रकालीले महारुद्र माविलाई २५–१०, २५–१४ ले, छोरेपाटनले विरेठाँटी माविलाई २५–११, २५–१५ र २६–२४ ले, जनप्रियले पार्दी माविलाई २५–१९, २५–२० ले, कन्या माविले राष्ट्रिय माविलाई २५–१९, २५–१५ले र शान्ता माविले भद्रकालीलाई २५–९, २५–१४ ले पराजित गरी सेमीफाइनलमा स्थान सुरक्षित गरे ।
यता छात्रतर्फ भने पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत शान्ता मावीले जनप्रिय मावीलाई २५–१५, २५–१७ ले, विश्वशान्ती माविले रत्नशोभा माविलाई २५–१७, २५–२२ र २५–२२ ले, मेश्रम बराह माविले बिरेठाँटी माविलाई १७–२५, २५–१९ र २५–२२ ले, कालिका माविले भद्रकाली मावीलाई १९–२५, २५–२१ र २५–१७ ले तथा महारुद्र माविले अभिमान माविलाई सोझो २५–२२, २५–२१ ले पराजित गरेका छन् ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले पोखरा आफैमा खेलकुदको हव भएको बताउँदै पोखरालाई न्यूट्रल खेल भेन्यूको रुपमा अघि बढाउन सके कुनै पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गर्न सक्ने बताए । उनले भने–“अहिले शुरक्षाका कारण भारत पाकिस्तानमा र पाकिस्तान भारतमा खेल्ने स्थिती छैन । यदि हामीले पोखरालाई न्यूट्रल खेल भेन्यूको रुपमा अघि बढाउन सके नेपालले त्यसको फाइदा लिन सक्छ । हामीले सरोकारवाला सवैले यस बारे सोच्न र योजना बनाउन आवश्यक छ ।”
गण्डकी प्रदेश सरकारले सदैव खेलकुद विकास र खेलाडीहरुको हितका लागि आफ्ना योजनाहरु अघि बढाएको उल्लेख गर्दै यस प्रकारका प्रतियोगिताले प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउँदै प्रदेश सरकार सहयोगको प्रतिवद्धता समेत व्यक्त गरे ।
सृजना विकास केन्द्रका अध्यक्ष विष्णु प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरूङ, कास्की जिल्ला भलिबल संघका अध्यक्ष विष्णु बहादुर गुरूङले समेत आफ्ना भनाई राख्दै यूवा खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग पुग्ने बताए ।
