एनआरएनए ‘डे’मा स्पोर्टस एकेडेमी द्वारा खेलाडी सम्मानित

पोखरा स्पोर्टस । गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्पोर्ट्स एकेडेमीले टोकियो ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।

एनआरएनए स्पोर्ट्स एकेडेमीले सोमबार गैरआवासीय नेपाली दिवस २०२१ को अवसर पारेर टोकियो ओलम्पिक र पारालिम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्रले सम्मानित गरेको हो । सोही अवसरमा राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य एकेन्द्र कुवर र राखेपका सदस्य सुवाश श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

टोकियो ओलम्पिकमा नेपालले चार खेल (एथलेटिक्स, पौडी, जुडो र सुटिङ) मा ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पारालिम्पिकमा एक मात्र खेलाडीका रुपमा पारा तेक्वान्दा खेलाडी पलेशा गोबद्र्धनले भाग लिएकी थिइन् । एथलेटिक्सबाट सरस्वती चौधरी, जुडोबाट सोनिया भट्ट, सुटिङबाट कल्पना परियार, पौडीबाट महिलामा गौरिका सिंह र एलेक्स शाह रहेका थिए ।

प्रशिक्षकमा एथलेटिक्साट सन्तोष श्रेष्ठ, जुडो प्रशिक्षक सूर्य नारायण श्रेष्ठ, पौडी प्रशिक्षक शंकर कार्की र सुटिङका प्रशिक्षक असिम यादव सम्मानित भएका हुन् । यस्तै पारालिम्पिक खेलाडी पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भए ।

खेलाडी तथा प्रशिक्षकलाई एनआरएनएका अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष भवन भट्ट, एनआरएनले नेपाली संघका युवा संयोजक तथा खेलकुद प्रतिष्ठानका संयोजक हिमाल गुरुङलगायतले सम्मानित गरे । कार्यक्रममा वरिष्ठ खेल पत्रकार श्याम चित्रकार र निरन्जन राजवंशीलगायत विभिन्न खेलका खेलकर्मी तथा प्रशिक्षकहरु पनि सम्मानित भए ।

सोही अवसरमा उसु, जुडो, कराते र तेक्वान्दोका खेलाडीले आ आफ्नो खेल कौशल प्रदर्शन गरेका थिए । एनआरएनए स्पोर्टस् एकेडेमीले नवौं राष्ट्रिय खेलकुदको तयारीलाई मध्यनजर राख्दै निकट भविष्यमानै कराते प्रतियोगिता आयोजना गर्ने भएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close