
पोखरा स्पोर्टस । हङकङ विरुद्ध जित हात पार्न उच्च मनोबलका साथ नेपाली टोली मैदानमा उत्रने नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बताएकाछन् ।
बुधबार हङकङ स्टेडियममा आयोजित प्रि म्याच क्रन्फ्रेन्सका क्रममा मुख्य प्रशिक्षक रसले हङकङ लाई नजिकबाट नियालेको बताउँदै हङकङ बलियो टोली भएको बताएका मुख्य प्रशिक्षक रसले हङकङलाई राम्रो संग अध्ययन समेत् गरेको बताए ।
रातीको खेलमा हङकङको अवस्था राम्रो भएपनि आफूहरुले पछिल्लो करिब एक महिना कडा मेहनत गरेका उल्लेख गरे । उनले भने, “हामीले एशियन च्याम्पियन्सीप छनोटमा लाओसविरुद्धको खेल पूर्व यसप्रकारको मैत्रीपूर्ण म्याच खेल्नुले सकारात्मक उर्जा दिएको छ । हामीले यस मैत्रीपूर्ण खेलमा देखिने कमीकमजोरीलाई लाओसविरुद्ध सुधार्ने अवसर पाउनेछौ । यो सुखद पक्ष हो ।” हाइअल्टिच्युडमा केही समय अभ्यास गरेको बताउँदै उनले टोली आगामी दुई खेलका लागि पूर्णरुपमा तयार रहेको प्रस्टाए ।
हङकङसंगको उच्चस्तर खेल हुने बताएका मुख्यप्रशिक्षक रसले हङकङविरुद्ध आफूहरुले उत्कृष्ट खेल प्रस्तुत गर्ने उल्लेख गरे ।
प्रि म्याच क्रन्फ्रेन्समा टोलीका कप्तान किरण चेम्जोंगले हङकङसंगको मैत्रीपूर्ण म्याच मात्र नभएर लाओसविरुद्धको खेलका लागि समेत उत्कृष्ट अभ्यास गरेको बताए । उनले भने, “हामी विपक्षीलाई सम्मान गर्छौ। तरपनि पाहुनाका रुपमा हामी भोली हुने खेलका लागि तयारीमा रहेकाछौ ।”
बिहीबार हुने मैत्रीपूर्ण खेलका लागि टोलीले आज बेलुका अन्तिम अभ्यास गरेको छ । हङकङले यसै मैदानमा केहीदिन अघि इंगलिश टोली म्यानचेष्टर युनाइटेडसंग ३ एक गोल अन्तरले हारको स्वाद पाएको थियो । हङकङको टोली फिफा वरियतामा १५३ औं स्थानमा रहेको छ ।
