पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता ‘प्रचण्ड कप’ जेठ २७ देखि सुरु हुने

पोखरा स्पोर्टस । नेपाल स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आगामी जेठ २७ गतेदेखि पोखरामा सुरु हुने भएको छ ।  प्रतियोगिता पोखरा रंगशालामा जेठ ३१ गतेसम्म सञ्चालन हुने आयोजकले पोखरामा बुधबार एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगिता नेपाल भलिबल संघ र राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक स्वीकृतिमा आयोजना हुन लागेको हो । प्रदेश खेलकुद परिषद् गण्डकी र जिल्ला खेलकुद विकास समिति कास्कीको विशेष सहयोग रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालका प्रमुख क्लब तथा टिमहरू सहभागी हुनेछन् । जसमा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश टिम, एभरेष्ट भलिबल क्लब र न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब समावेश छन् । प्रतियोगिता लिग तथा नकआउट चरणमा सञ्चालन गरिनेछ ।

विजेता टिमले रु ६ लाख, उपविजेताले रु ३ लाख, र तेस्रो हुने टिमले रु १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडीले रु २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रु १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

प्रत्येक टिममा तीन जना विदेशी खेलाडी सम्म खेलाउने व्यवस्था मिलाइएको छ ।

एकेडेमीका अध्यक्ष दीपक कोइरालाले भलिबललाई लोकप्रिय बनाउने र राष्ट्रियस्तरको स्तरीय प्रतियोगितामार्फत खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए । उनले भने, “भविष्यमा यो प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाउँदै लैजाने योजना छ ।”

स्मरणीय छ, भलिबललाई सन् २०१७ (वि.सं २०७४) मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राष्ट्रिय खेलको रूपमा घोषणा गरेको थियो ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close