
पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारका यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले ह्याण्ड व्रेकिङ गर्दै पोखरामा शुक्रबारबाट सुरू भएको प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरेका छन् ।

मन्त्री थापाले पोखरामा पहिलो पटक तेक्वान्दो स्कुल ‘अव्सुल्युट डोजाङ’ले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिताको उद्घाटनका क्रममा व्यानरमा हस्ताक्षर मात्रै गरेनन् तेक्वान्दो खेलाडीले प्रदर्शनका क्रममा फोड्ने काठ हातले फोडदै प्रतियोगिताको उद्घाटन समेत् गरे ।
सो अवसरमा बोल्दै मन्त्री थापाले गण्डकी प्रदेशको खेलकुद विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको जनाउँदै नयाँ बजेटमा खेलकुदले प्राथमिकतामा राख्ने बताए । उनले गण्डकी प्रदेश सहाशिक संगै खेलकुदका लागि महत्वपूर्ण प्रदेश रहेको बताउँदै खेलकुदको विकास र खेलाडीहरुको हितका लागि मन्त्रालय सदैव तत्पर रहेको उनको भनाई थियो ।
कार्यक्रममा आयोजक अव्सुल्युट डोजाङले कास्की जिल्ला खेलकुद विकास समितिमा मनोनयन भएका मिलन गुरूङलाई सम्मान गरेको छ भने प्रतियोगितालाई मुख्य प्रायोजन गर्ने पूर्व राजसभा सदस्य अमर बहादुर गुरूङलाई समेत सम्मान गरेको छ ।
प्रतियोगितामा विभिन्न जिल्लाका ७ सय ७४ खेलाडीहरुको सहभागिता रहेको अव्सुल्यृट डोजाङकी प्रशिक्षक रेखमाया गुरूङले पोखरा स्पोर्टसलाई जानकारी दिइन् । प्रतियोगितामा पुरुषतर्फ ४२२ र महिलातर्फ ३५२ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा जुनियर सिनियर १५ केजी तौल देखि ४१ केजी तौल सम्मगरी महिला र पुरुषतर्फ गरी विभिन्न ४० वटा इमेन्टमा फाइटतर्फ प्रतिस्पर्धा हुने सिनियर तेक्वान्दो प्रशिक्षक बलराम लामाले बताए । उनका अनुसार पुम्सेतर्फ भने १० वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा विजेता टिमहरुलाई पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई नगद रु ३० हजार, २० र १० हजारका साथमा ट्रफी तथा मेडल प्रदान गरिनेछ ।
