नवौ पिएम कप एनभिए भलिबल : हेल्प नेपाल र पुलिसले गरे उपाधि रक्षा

पोखरा स्पोर्टस । नवौ पिएम कप एनभिए भलिबल लिगमा घरेलु टोली गण्डकीलाई ३–२ ले स्तव्ध पार्दै हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि रक्षा गरेको छ । उत्कृष्ट प्रदर्शन गदैै डिफेन्डिङ च्याम्पियन हेल्प नेपालले बिहिबार भएको फाइनलमा पहिला दुई सेट २५–२० र २७–२५ ले गुमाए पनि पछिल्ला तीन सेट २५–२२, २५–१४ र १५–८ आफ्नो कब्जामा पार्दै उपाधि रक्षा गर्न सफल भयो ।

महिलातर्फ नेपाल पुलिस क्लबले पिएम कप एनभिए भलिबल लिगको उपाधिमा ह्याट्रिक गरेको छ । टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबलाई ३–१ ले हराउँदै पुलिस उपाधि रक्षा गर्न सफल रहेको छ । पुलिसले फाइनलमा २५–२०, २२–२५, २८–२६ र २५–१४ ले जित्दै उपाधि रक्षा गरेको हो ।

यता पुरुषतर्फ नै नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पारेको छ । त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै पुलिस तेस्रो भएको हो । पुलिसले पहिलो सेट २७–२५ ले, दोस्रो २५–२० ले जित्दा तेस्रो सेट आर्मीले २५–२३ ले जित्दै पुलिसलाई चुनौती दियो । तर चौथो सेट २५–१४ ले जित्दै पुलिसले तेस्रो स्थान हात पार्न सफल रह्यो ।

यस्तै महिलातर्फ एभरेष्ट भलिबल क्लबले तेस्रो स्थान प्राप्त गरेको छ । नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै एभरेष्टले तेस्रो स्थानमा हासिल गरेको हो । थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले २५–१८,१०–२५,२५–१३,२९–२७ ले खेल आफनो पक्षमा पारेको हो ।

प्रतियोगिताका उपाधि विजेता टोलीले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख रुपैयाँ प्राप्त गरे । विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिसकी उषा भण्डारी र पुरुषतर्फ हेल्प नेपालका मुशवहर रजा उत्कृष्ट हुँदै जनही नगद रु ५०–५० हजार हात पारे ।

महिला तथा पुरूष दुवैतर्फ विजेता टोलीले नेपाललाई प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । पुरूषतर्फ काभा क्लब च्याम्पियन्स लिग तीन महिना पछि मालदिभ्समा हुनेछ भने महिलाको नेपालमा आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close