
पोखरा स्पोर्टस । ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिस अनुसार पराजुलीलाई आगामी जेठ २० गते घान्द्रुकमा आयोजना हुने पाँचौँ अन्नपूर्ण म्याराथनको समापन समारोहमा नगद रु २५ हजार र सम्मानपत्रसहित सम्मान गरिने छ ।
अन्नपूर्ण गाउँपालिका, घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित तथा सञ्चालित यो पुरस्कार अन्नपूर्ण हिमाल आरोहण दिवस जुन ३ का अवसरमा पर्यटन प्रवर्द्धनमा योगदान गर्ने एक पत्रकारलाई प्रदान गरिँदै आएको छ ।
प्रतिभा छनोट समितिमा संयोजक राजबहादुर गुरुङ (नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष), सदस्यहरुमा कानुनी सल्लाहकार हरिप्रसाद भट्टराई, मिडिया संयोजक टंकराज अधिकारी, र पदेन सदस्यका रुपमा समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलीप गुरुङ रहेका थिए ।
यसअघि बासुदेव पौडेल, दीपक परियार, रुपनारायण ढकाल, सन्तोष पोखरेल र रविचन्द्र पराजुलीलाई यो पुरस्कार दिइसकिएको छ ।
पोखरा(१, लामपाटन मार्गका स्थायी बासिन्दा पराजुली २०६१ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनले आदर्श समाज राष्ट्रिय दैनिकबाट विद्यार्थी पत्रकारको रुपमा करिअर सुरु गरी जनमत दैनिक, रेडियो वाराही हुँदै २०६६ सालदेखि नयाँ पत्रिकामा कार्यरत छन् । खोजमूलक रिपोर्टिङ र सामाजिक विकृति–विसंगतिमाथि लेख्ने निडर पत्रकारका रूपमा पराजुली परिचित छन् ।
उनी यसअघि खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० (युवा तथा खेलकुद मन्त्रालय) र उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड २०८० (नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी) बाट समेत सम्मानित भइसकेका छन् ।
यसै अवसरमा अन्नपूर्ण आरोहणको ७५ औं वार्षिकोत्सव मनाउँदै, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले ूपर्यटनका लागि सबै मौसमू भन्ने नारासहित पाँचौं संस्करणको अन्नपूर्ण म्याराथन २०८२ को आयोजना गरेको छ । म्याराथन जेठ २० गते अन्नपूर्ण आधार शिविर (४,१३० मि) बाट सुरु भई ४२.१९५ किलोमिटरको दूरी पार गर्दै घान्द्रुकस्थित श्री मेश्रम वराह माविको खेल मैदानमा समाप्त हुनेछ ।
प्रतियोगितामा महिला र पुरुष दुबैतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ। पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने धावकहरूले क्रमशः रु १ लाख ५० हजार, १ लाख र ७५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
थप विशेष पुरस्कारहरूमा अन्नपूर्ण गाउँपालिकावासी धावक, गण्डकी प्रदेशवासी धावक, तीनपटक निरन्तर महिला सहभागी, विदेशी विजेता, तथा ७५ औं स्थान प्राप्त गर्ने धावकलाई ‘डायमण्ड जुब्ली अवार्ड’ प्रदान गरिनेछ ।
सन् १९५० जुन ३ का दिन मौरिस हर्जोग नेतृत्वको फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथम (८,०९१ मि) को पहिलो सफल आरोहण गरेको ऐतिहासिक दिनको सम्झनामा अन्नपूर्ण आरोहण दिवस मनाइँदै आएको हो । म्याराथन आयोजनाको उद्देश्य पदयात्रा मार्गको पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र खेल पर्यटनको विस्तार रहेको आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए ।
