
पोखरा स्पोर्टस । टाइगर ग्रुप अफ पोखरा नेपालले छैटौं संस्करणको टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिताको मिति घोषणा गरेको छ ।
संस्थाले बुधबार पोखरामा पाँचौ संस्करणको प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्दै छैटौं संस्करणको समेत मिति घोषणा गरेको हो । सो अवसरमा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई प्रतियोगिताको स्विकृतीको पत्र हस्तान्तरण गर्दै माघ ९ देखि १७ गते सम्म आयोजना हुने जानकारी गराएका हुन् । मिति घोषणा संगै तयारी समेत सुरू गरिएको अध्यक्ष शर्माले बताए ।
छैटौं संस्करणको मिति घोषणा गर्दै अध्यक्ष शर्माले प्रतियोगिता आउटडोरमा नै आयोजना गर्ने बताए । उनले भने–“अहिले इन्डोर हलमा एनभिए कप आयोजना भइरहेको छ । तर हामी इन्डोर भन्दा आउटडोरलाई प्राथमिकता दिन्छौै । दर्शकहरुको क्षमताका आधारमा पनि आउटडोरमा नै प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता छ ।” टाइगर कप भलिबलले देशमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा समेत उत्तिकै चर्चा पाइरहेको बताउँदै अध्यक्ष शर्माले छैटौं सस्करणमा समेत उत्तिकै माया पाउनेमा आफू विश्वस्त रहेको जनाए ।
संस्थाले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी आय–व्यय सार्वजनिक गरेको छ । गत माघ १२ देखि २० गते सम्म आयोजना भएको प्रतियोगिताबाट रु १ करोड ७१ लाख ८९ हजार ५ सय ७१ रुपैयाँ आम्दानी तथा खर्चतर्फ रु १ करोड ५० लाख ८८ हजार ५ सय ६५ गरी कुल २१ लाख १ हजार ६ रुपैयाँ बचत गरेको संस्थाका अध्यक्ष शर्माले जनाएका छन् । टाइगर कपको यो आम्दनी विगतका चार संस्करणहरु भन्दा बढि हो । संस्थाले गत वर्ष भन्दा ३ लाख बढि आम्दानी गरेको छ ।
पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।
