
पोखरा स्पोर्टस । पोखरा रंगशालामा जारी ९औं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा गण्डकी प्रदेश टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब विरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न ९औं प्रधानमन्त्री कप एनभीए भलिबल लिगअन्तर्गत २३ औं खेलमा गण्डकी प्रदेशले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबमाथि रोमाञ्चक ३–२ को जित हासिल गर्दै करिव करिव फाइनलमा स्थान सुरक्षित गरेको छ । यद्यपी भोली (बुधबार) नेपाल पुलिस र टिपटप हेल्प नेपालको खेलले फाइनलमा शिर्ष अंकका साथ स्थान बनाउने टिमको टुङ्गो लाग्ने छ ।
नेपाली भलिबल संघद्वारा आयोजित प्रतियोगितामा घरेलु टोली गण्डकीले कडा प्रतिस्पर्धाबीच निर्णायक पाँचौं सेटमा जित निकाल्दै रोमाञ्चक खेल आफ्नो पक्षमा पारेको हो ।
दुवै टिमबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो, तर गण्डकीले दर्शकहरूको उत्साहजनक साथ पाउँदै निर्णायक क्षणमा उत्कृष्ट प्रदर्शन गर्दै अंक तालिकामा १७ अंकका साथ शिर्ष स्थानमा आफूलाई उभ्याएको छ ।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिता जेठ १५ गते सम्म चल्नेछ । प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन चरणपछि शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
प्रतियोगिताका विजेता टोलीले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
महिला तथा पुरूष दुवैतर्फ विजेता टोलीले नेपाललाई प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । पुरूषतर्फ काभा क्लब च्याम्पियन्स लिग तीन महिना पछि मालदिभ्समा हुनेछ ।
