आर्चरीमा मंगलबारदेखि पदकका लागि प्रतिष्पर्धा हुने

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी खेलतर्फका फाइनल प्रतिष्पर्धा मंगलबारदेखि सुरु हुँदैछन् । सोमबारका खेलहरुबाट कम्पाउण्ड मेन्स सिंगल्स र वुमन्स सिंगल्स, रिकर्भ मेन्स सिंगल र रिकर्भ वुमन्स सिंगल्स तथा स्टाण्डर्ड मेन टीम र वुमन्स टीमको फाइनल समिकरण तयार भएको छ ।

कम्पाउण्ड मेन्स सिंगल्सतर्फ गण्डकीका जागृत गुरुङ र गण्डकीकै ख्यामबहादुर क्षेत्री फाइनल पुगेका छन् । जागृतले सुदुरपश्चिमका सुरेश गुरुङलाई १३६ को विरुद्ध १४४ अंकका साथ स्वर्ण पदकको प्रतिष्पर्धामा आफूलाई उभ्याएका हुन् । फाइनलमा गण्डकीकै खेलाडी पुगेपछि यस विधामा गण्डकीलाई स्वर्ण र रजत पक्का भएको छ ।

जागृतले ¥याङकिङ राउण्डमा ६९८ स्कोर खडा गर्दा सातौं राष्ट्रिय खेलकुदमा आफूले बनाएको ६८९ अंकको रेकर्ड पनि तोडेका छन् । ख्यामले ६९७ अंक जोडे । यस्तै, गण्डकीका ख्यामले एपीएफएका रमेश भट्टचनलाई १४१–१३५ स्कोरले हराउँदै उपाधि होडमा आफूलाई उभ्याए ।

कम्पाउण्ड वुमन्स सिंगल्सतर्फ एपीएफकी पार्षदा आचार्य र आर्मीकी इमायुङ राई फाइनल पुगेका छन् । पार्षदाले गण्डकीकी मोनिका रानालाई १३४–१०९ स्कोरले हराईन् । यस्तै, इमायुङले एपीएफकी निर्मला कानवाङ राईलाई १३०–१२२ स्कोरले पछि पारिन् ।

रिकर्भ मेन्स सिंगल्सतर्फ गण्डकीका गंगाबहादुर कुँवर र पुलिसका तिलक पुन फाइनल पुगेका छन । गंगाले एपीएफका विराट थापालाई ६–४ अंकले हराएका हुन् । यस्तै, तिलकले गण्डकीका असिम शेरचनलाई ६–४ अंकले पन्छाउँदै फाइनलमा स्थान बनाए ।

रिकर्भ वुमन्स सिंगलतर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी ज्ञानु अवालेलाई ६–४ स्कोरले हराइन् । यस्तै आर्मीकी मञ्जु बजगाईंले गण्डकीका रश्मी दर्लामीलाई सोझो ३ सेटमा (६–०) हराइन् ।

स्टान्डर्ड मेन्स टीमतर्फ गण्डकी र सुदुरपश्चिम उपाधिका लागि प्रतिष्पर्धामा उत्रँदा वुमन्स टीम तर्फ प्रदेश १ र आर्मी खेल्नेछन् । मेन्स टीमको पहिलो सेमिफाइनलमा गण्डकीले प्रदेश नं. १ लाई ५–१ अंकले हराएको हो । यस्तै, अर्को खेलमा सुदुर पश्चिमले नेपाल पुलिसाई ६–४ अंकले हराउँदै फाइनल पुगेको हो ।

स्टान्डर्ड वुमन टीम तर्फ प्रदेश १ ले गण्डकी प्रदेशलाई ६–० अंकले सोझो तीन सेटमा हरायो । यस्तै, आर्मीले पनि एपीएफलाई सोझो तीन सेट (६–०) ले पन्छाउँदै फाइनलको यात्रा तय गरेको हो ।

राष्ट्रिय खेलकुदमा पाँचौ संस्करणबाट सहभागिता जनाएको आर्चरीमा यो पटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको छ । खेलमा ५ प्रदेश, ३ विभागीय र एनआरएनए गरी नौ टीमको सहभागिता रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन् । मधेश र कर्णालीको भने सहभागिता रहेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close