
पोखरा स्पोर्टस । तीन पाकिस्तानी खेलाडीहरुको भरमा गण्डकी प्रदेश भलिबल टिमले पोखरामा जारी पिएम कप एनभिए भलिबल लिगमा आफ्नो अपराजित यात्रा कायम राखेकोे छ ।
पोखरामा आइतबार भएको मणीमुकुन्द भलिबल क्लब विरुद्धको खेलमा गण्डकीले ३–० को सोझो सेटमा जित निकालेको हो ।
पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको हो । यो जित सहित गण्डकीले आफ्ना चारवटै खेलमा जित हात पार्दै फाइनल यात्रालाई प्रतिस्पर्धात्मक बनाएको छ ।
गण्डकीले लिगको पाँचौ खेल भोली सोमबार सुदुर पश्चिम संग मध्यान्ह १२ बजे खेल्नेछ ।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिता जेठ १५ गते सम्म चल्नेछ । प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन चरणपछि शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
प्रतियोगिताका विजेता टोलीले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
महिला तथा पुरूष दुवैतर्फ विजेता टोलीले नेपाललाई प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।
