
पोखरा स्पोर्टस । तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय सेपाकताक्रो प्रतियोगिता पोखरामा शुक्रबारबाट सुरू भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रदेश सेपाकताक्रो संघको व्यवस्थापनमा सुरू भएको प्रतियोगिताको एक कार्यक्रमका बीच मधेश प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिब शिवजी प्रसाद गुप्ताले उद्घाटन गरे ।

विशेष कार्यक्रमका लागि पोखरा आएका सदस्य सचिब गुप्ताले गण्डकी प्रदेश पर्यटनको हव मात्रै नभई खेलकुदको समेत उत्तिकै महत्वपूर्ण प्रदेशको रुपमा स्थापित भएको बताए । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि समेत प्रतियोगिताको महत्वपूर्ण भूमिका हुने सदस्य सचिब गुप्ताको भनाई थियो ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य हिमाल श्रेष्ठ, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतको सहभागिता रहेको थियो ।
प्रतियोगिता बारे जानकारी दिंदै गण्डकी सेपाकताक्रो संघका अध्यक्ष श्याम बहादुर श्रेष्ठले गण्डकीको सेपाकताक्रो खेलको विकासका लागि ५ लाख अक्षयकोष स्थापना गरी अघि बढेको जनाउँदै खेलाडी सम्मान लगायतका कार्यक्रमहरुलाई प्रभावकारी बनाउने बताए ।
प्रतियोगितामा १० जिल्लाका महिला तथा पुरुष गरी १९ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टिमले नगद रु २५ हजार, उपविजेताले १५ र तेस्रो हुने टिमले १० हजार नगदका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
