
पोखरा स्पोर्टस । पोखरेली उदीयमान खेलाडी आर्यसराज पौडेलले श्रीलंकामा हुने एटीएफ यु–१२ टीम टेनिस प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् ।
श्रीलंका टेनिस संघको आयोजनामा यहि जेष्ठ १२ देखि १६ गतेसम्म राजधानी कोलम्बोमा हुँदै छ । सो प्रतियोगितामा नेपाल सहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले सहभागिता जनाउने भएको नेपाल टेनिस संघले जनाएको छ ।
यसैविच,कास्की जिल्ला टेनिस संघले बुधबार एक कार्यक्रमको आयोजना गरी जुनियर टेनिस खेलाडी आर्यसलाई विदाई गरेको छ ।
सो अवसरमा कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङले आर्यसले नेपालमा भएका विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नों उमेर समुहमा उत्कृष्टता हाँसिल गर्दै आएको बताउँदै श्रीलंकामा पनि आर्यसले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरे ।
संघका प्रथम उपाध्यक्ष नविन चालिसेले आर्यस पोखराबाट उदाएका र पोखरेलीले गौरब गर्ने खेलाडी भएको बताउँदै श्रीलंकामा पनि राष्ट्रको शान उँचो पार्नेमा आफू विश्वस्त रहेको जनाए ।
सो अवसरमा खेलाडी आर्यसराज पौडेलले श्रीलंकामा हुने उक्त प्रतियोगितामा आफ्नों अनुभवको सक्दो प्रयोग गर्ने बताउँदै भने–‘खेलमा हार वा जित जे पनि हुन सक्छ, तर म मेरो सम्पूर्ण प्रयास लगाउने छु ।’
विदाई समारोहमा कास्की टेनिस संघका पदाधिकारी तथा खेलाडीहरुले खेलाडी आर्यसलाई खादा, माला तथा नेपाली राष्ट्रिय झण्डा प्रदान गरेका थिए ।
