
पोखरा स्पोर्टस । “युवा एकता र विकासका लागि खेलकुद ” भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा न.२५ हेमजामा “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को आयोजना हुने भएको छ ।
हेमजा यूनाईटेडको आयोजनामा तथा पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षकत्वमा यही जेष्ठ १० देखि १७ गते सम्म ३५ वर्ष भन्दा माथि उमेर समूहको सो प्रतियोगिता आयोजना गरिएको हो ।
खेलकुदको माध्यमबाट एकता भाईचार बढाउदै खेलकुदमा अभिरुचि जगाई खेलकुदका मध्यम बाट स्वास्थ्य राख्ने साथै गौरीशङ्कर खेल मैदान (गैरी)को स्तरोन्नति तथा संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्वितिय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।
उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्र बहादुर कुवरले जानकारी दिए ।
साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने समेत कुवरले उल्लेख गरे ।
प्रतियोगिता सम्पन्न गर्न गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भुमिका रहेको छ । खेल पोखरा–२५, हेमजा गौरीशङ्कर खेल मैदान (गौरी)मा हुने छ ।
