
पोखरा स्पोर्टस । पोखरामा सम्पन्न विश्वकै कठिनतम मध्येको एक हिमालयन एक्स्ट्राई वर्ल्ड टुर एक्सट्रिम ट्रायथलनमा स्लोभाकियाकी महिला धाविका निकोला कोरबोभाले ऐतिहासिक जित हात पार्दै नयाँ कीर्तिमान स्थापित गरेकी छन् ।

हिमालयन एक्सट्राइको आयोजनामा शनिबार राति अवेर गरी सम्पन्न प्रतियोगितामा ३२ प्रतिस्पर्धीलाई उछिन्दै निकोलाले इतिहास मात्रै रचिनन कीर्तिमान समेत् स्थापित गरेकी हुन् । उनले ३ं.८ किमि पौडी, १६५ किमि साइक्लिङ र ४३ किमि दौड पुरा गर्न १७ घन्टा ०८.४१ सेकेण्डको समय लिइन् ।
प्रतियोगितामा सहभागि २५ र पुरूष र ७ महिला मध्ये दोस्रो स्थानमा भने काजाकास्तानका गालिम चाउसेभले प्राप्त गरे । उनले सो प्रतियोगता १७ घन्टा ५६.३५ सेकेण्डको समय लिए भने यसै गरी प्रतियोगितामा चेक रिपलब्किकी हेलेन कोटोपोलुले १८ घन्टा ३६.२७ सेकेण्डको समय लिंदै तेस्रो भए । जर्मनीका फ्लेक्स लेडरले १८ घन्टा ४३.२० सेकेण्डमा दौड पुरा गरी चौथो हुन सफल भए ।
पोखरामा हरेक वर्ष आयोजना हुँदै आएको हिमालयन एक्स्ट्राई वर्ल्ड टुर एक्सट्रिम ट्रायथलनको चौथो संस्करणमा २१ देशका २५ पुरूष र ७ महिला गरी ३२ जनाले प्रतिस्पर्धा गरेको रेस डाइरेक्टर रिकेश योञ्जनले पोखरा स्पोर्टसलाई बताए ।
प्रतियोगिता अन्तर्गत फेवातालमा ३.८ किमि पौडी, १६५ किमि साइक्लिङ र ४३ किमि दौड समावेश रहेको थियो । जस अन्तर्गत पौडी फेवातालमा भएको थियो । १६५ किमि साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बाग्लुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको लुम्ले काँडेमा पुगेर सम्पन्न भएको थियो । सो लगतै सम्पन्न ४३ किमि लामो दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै पुनः फर्किएर माछापुच्छ्रे गाउँ पालिकाको ल्वाङमा पुगेर सम्पन्न भएको थियो ।
विश्वकै एक्सट्रिम वर्ल्ड टुर ट्रायथनलमा महिलाले रेस जितेको यो पहिलो पटक भएको रेस डाइरेक्टर योञ्जनले बताए । “महिलाले यस्तो कठिन र चुनौतीपूर्ण रेस जित्नु विश्वकै लागि अनौठो घटना हो । निकोलालाई उनको यो कठिन जितका लागि बधाई दिन चाहन्छु,” उनले भने–“निकोलाले इतिहास रचेकी मात्रै छैनन यस्तो कठिन रेसमा पनि महिला सक्षम छन् भन्ने सन्देश विश्वमा पुगेको छ । जसका कारण आगामी छैटौं संस्करणमा महिलाको सहभागिता बढ्ने निश्चित भएको छ भने नेपाल विशेष गरी पोखरालाई विश्वमा यो रेसले अझै प्रवर्द्धन गर्न भूमिका खेलेको छ । यसमा राज्यको भूमिकाको अपेक्षा छ ।”
प्रतियोगितामा सहभागिता जनाएका ३५ पुरूष र ७ महिला गरी ४२ जना मध्ये ३२ जनाले अन्तिम रेसमा सहभागिता जनाएका थिए ।
Photo: Ankit Manandhar
