
पोखरा स्पोर्टस । सहाशिक मध्येको पनि सहाशिक खेलकुदका रूपमा विश्वमा चिनिएको एक्सट्रिम ट्रायथलन पोखरा शनिबार सुरू भएको छ ।
पोखरामा हरेक वर्ष आयोजना हुँदै आएको हिमालयन एक्स्ट्राई वर्ल्ड टुर एक्सट्रिम ट्रायथलनको चौथो संस्करणमा १९ देशका २५ पुरूष र ७ महिला गरी ३२ जनाले प्रतिस्पर्धा गरिरहेको रेस डाइरेक्टर रिकेश योञ्जनले जानकारी दिएका छन् ।

प्रतियोगिता अन्तर्गत फेवातालमा ३.८ किमि पौडी, १ सय ६५ किमि साइक्लिङ र ४३ किमि दौड समावेश रहेको छ । जस अन्तर्गत पौडी सम्पन्न भई साइक्लिङ दौड सुरू भएको छ ।
१६५ किमि साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बाग्लुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको लुम्ले काँडेमा पुगेर सम्पन्न हुनेछ । सो लगतै ४३ किमि लामो दौड सुरु हुनेछ । उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै पुनः फर्किएर माछापुच्छ्रे गाउँ पालिकाको ल्वाङमा पुगेर सम्पन्न हुनेछ ।
गत वर्ष सम्पन्न तेस्रो संस्करण नर्वेका एन्डर्स लङसेटले जितेका थिए । उक्त एक्सट्रिम ट्रायथलन एन्डर्सले दौड पुरा गर्न १६ घन्टा २३ मिनेट २६ सेकेण्डको समय लिएका थिए ।
