हिमालयन एक्सट्रिम ट्रायथलन भोली शनिबार हुँदै, तयारी पुरा

पोखरा स्पोर्टस । पोखरामा हुने हिमालयन एक्सट्रिम ट्रायथलनको सम्पूर्ण तयारी पुरा भएको छ ।

पोखरामा हरेक वर्ष आयोजना हुँदै आएको विश्वकै कठिन मानिने हिमालयन एक्स्ट्राई वर्ल्ड टुर एक्सट्रिम ट्रायथलन भोली शनिबार हुने भएको हो । चौथो संस्करणको उक्त ट्रायथलनमा १९ देशका २५ पुरूष र ७ महिला गरी ३२ जनाले प्रतिस्पर्धा गर्ने रेस डाइरेक्टर रिकेश योञ्जनले जानकारी दिएका छन् ।

कहाँ र कसरी हुन्छ रेस
विश्वकै कठिन प्रतियोगिताको मध्येको एक उक्त प्रतियोगिता अन्तर्गत फेवातालमा ३.८ किमि पौडी, १ सय ६५ किमि साइक्लिङ र ४३ किमि दौड समावेश रहेको छ ।

फेवातालमा पौडी बाट सुरु भए लगतै १७५ किमि साइकल दौड सुरु हुनेछ । सो पौडी विहान ४ बजे हुनेछ । पोखरा लेकसाईडबाट सुरु हुने साइकल दौड सराङकोट–पर्वतको कुस्मा–गलुङकालिका हुँदै पुनः फर्किएर कास्कीको लुम्ले काँडेमा पुगेर सम्पन्न हुनेछ । सो लगतै ४३ किमि लामो दौड सुरु हुनेछ । उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै पुनः फर्किएर माछापुच्छ्रे गाउँ पालिकाको ल्वाङमा पुगेर सम्पन्न हुनेछ

सन २०२७ मा नेपालमा नै वर्ल्ड एक्सट्रिम ट्रायथलनको आयोजनाको तयारी समेत सुरू गरेको हिमालयन एक्सट्रीले चौथो सस्करणमा नेपाल आउने खेलाडीहरुले निकै चासो देखाएको रेस डाइरेक्टर योञ्जनले बताए । उनले भने–“यो वर्ष पोखरा पयर्टन भ्रमण वर्ष समेत रहेकोले हामी विश्वका सबै खेलाडीहरुलाई यहाँ आउन विभिन्न माध्यमबाट निम्तो समेत दिएका थियौं जसका कारण ७ महिलाले यो पटक प्रतिस्पर्धा गर्दैछन् । यदि उनीहरुले रेस पुरा गरे यो ऐतिहासिक समेत हुनेछ । यसले खेलकुदको माध्यमबाट विश्वमा पोखरालाई अझै प्रवर्द्धन गर्न यो अवसरले महत्व राख्नेछ ।”

उनका अनुसार उनीहरूआफूलाई यहाँको वातावरणमा तयार गर्न प्रतियोगिता सुरू हुनु भन्दा १० दिन अघि नै पोखरा आउनेछन् । उनीहरुको नेपाल बसाई दुई साता भन्दा लामो हुने उनले बताए ।

यो वर्ष खेलाडीहरुको संख्या ३२ जना रहे पनि उनीहरु संग आउने प्रशिक्षक, पत्रकार, फोटोग्राफर गरी ९० जना भन्दा बढि विदेशी पोखरा आएका छन् । विश्वमा हुने कठिनतम रेस हरू मध्ये पोखरामा हुने यो रेस, विश्वकै कठिन रेसका रूपमा पहिचान रहेको बताउँदै योञ्जनले यो रेस विगत वर्षहरुको भनदा फरक हुने बताए ।

प्रतियोगितामा गत वर्ष सम्पन्न तेस्रो संस्करणका उपविजेता काजाकास्तानका रुस्लान एर्जानोभ समेतको सहभागिता रहेको छ ।

प्रतियोगितामा भारतसहित चेक रिपब्लिक, काजाकास्तान, जर्मनी, फ्रान्स, अमेरिका, रसिया, इन्डोनेशिया, यूक्रेन, ताइवान, नर्वेलगायत मुलुकका खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड खर्च लाग्ने रेस डाइरेक्टर योन्जनले जनाएका छन् ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, सिभिक क्लिनिकलगायतको सहयोग रहेको छ ।

पोखरालाई खेलकुद मार्फत विश्वमा चिनाउन यो प्रतियोगिताले भूमिका खेल्ने बताउँदै रेस डाइरेक्टर योन्जनले प्रतियोगितालाई वातावरण मैत्री बनाउने प्रयास गरिएको बताए ।
फोटोः अंकित मानन्धर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close