
पोखरा स्पोर्ट्स । पोखरामा पहिलो पटक ‘नवौं प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष क्लब लिग’ हुने भएको छ । नेपाल भलिबल संघको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको महासचिव रोशन श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गतको त्रिपुरेश्वरस्थित कभर्ड हल मर्मत सम्भार हुने भए पछि नवौं सस्करणको एनभिए क्लब लिग पोखरामा हुने भएको महासचिब श्रेष्ठले बताएका छन् ।
एनभिएको नवौं संस्करणको क्लब लिग आगामी जेठ ८ गते देखि १५ गतेसम्म सञ्चालन हुने छ । संघका महासचिव श्रेष्ठका अनुसार प्रतियोगिता सम्पन्न गर्न कुल १ करोड ३० लाख खर्च हुने भए पनि पोखरामा आयोजना हुने भए पछि थप ४० लाख खर्च हुने उनले बताए ।
महासचिव श्रेष्ठले पोखरा स्पोर्ट्ससँगको कुराकानीमा भने, “यो पटकको आयोजना निकै चुनौतीपूर्ण छ । खर्च समेत बढ्नेछ । तर यो पटक हामीले पोखरामा गर्ने निर्णय गरेका छौं सबैको सहयोग र सहकार्यको खाँचो छ ।”
जृठ ८ गते भलिबल दिवस पनि भएकोले उद्घाटन कार्यक्रमलाई भव्य बनाउने तयारी रहेको महासचिब श्रेष्ठले जानकारी दिए । “भलिबल भन्ने वित्तिकै यो राष्ट्रको गरिमा संग जोडिएको विषय पनि हो । यो भब्य बनाउने जिम्मा अब समग्र पोखरेलीहरुको काँधमा आएको छ,” उनले भने ।
