पोखरामा हुने ‘क्रस लेक पौडी प्रतियोगिता’ सफल बनाउन पर्यटन संघ संस्थाहरुको प्रतिवद्धता

पोखरा स्पोर्टस । पोखरामा हुने ‘प्रथम क्रस लेक खुल्ला पौडी प्रतियोगिता’ सफल बनाउन पर्यटन सम्वद्ध संघ संस्थाहरुले प्रतिवद्धता जनाएका छन् ।

गण्डकी प्रदेश पौडी संघको आयोजना तथा पोखरा महानगर पालिका वडा नं ६ को सहकार्यमा आयोजना हुने उक्त प्रतियोगितामा पर्यटन व्यवसायीहरुले सहकार्यको प्रतिवद्धता जनाएका हुन् ।

गण्डकी प्रदेश पौडी संघको आयोजनामा सम्पन्न उक्त छलफल कार्यक्रममा बोल्दै अग्रज पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले फेवातालको शुद्धिकरण अभियान समेत पौडी प्रतियोगिताले सन्देश दिने बताउँदै फेवाताललाई लक्षित गर्दै पौडी प्रतियोगिता सञ्चालन गर्नु सर्‍हानिय रहेको बताए । उनले भने–“कुनै बेला स्वच्छ रहेको फेवताल यति बेला ढल मिसिएर कुरुप बन्दै गएको छ । पौडी प्रतियोगिताले फेवाताल वरपरको वातावरण संरक्षण अभियानमा समेत भूमिका खेल्ने सन्देश प्रवाह गर्नेछ ।”

कार्यक्रममा आफ्ना भनाई राख्दै पोखरा पर्यटन परिषदका उपाध्यक्ष कृष्ण भण्डारीले पोखराको पर्यटन प्रवर्द्धनमा फेवाताल लक्षित पौडी प्रतियोगिता महत्वपूर्ण रहेको जनाउँदै परिषद अन्तर्गतका सबै संघहरुलाई सहकार्यका लागि आह्वान गरिने प्रतिवद्धता जनाए ।

परिषदका निवर्तमान अध्यक्ष गोपी भट्टराइले फेवाताल पछिल्लो समय प्रदुषण हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै पौडी प्रतियोगिताले फेवाताल प्रदुषण मुक्त बनाउने अभियानमा जोड्न आग्रह गरे ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठकले गण्डकी प्रदेश आफैमा सहाशिक खेलकुदको गन्तव्य रहेको जनाउँदै पछिल्लोक्रममा यसका गतिविधिहरु बढ्नु आफैमा सकारात्मक रहेको जनाए । उनले पर्यटकको वसाई लम्व्याउन खेलकुद प्रभावकारी हुने उल्लेख गर्दै सबैको ध्यान त्यसतर्फ केन्द्रित गर्न समेत आग्रह गरे ।

गण्डकी प्रदेश पौडी संघका अध्यक्ष आनन्द कुंवरको अध्यक्षतामा भएको कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराई, भिटोफका सचिव लक्ष्मण पाहारी, पर्यटन पत्रकार दिपेन्द्र पाहारी, पौडी संघ गण्डकीका सचिव अनिल थापालगायतले फेवातालका विषयमा उठेका नकरात्मक सन्देशहरुलाई चिर्न पौडी प्रतियोगिता सहायक हुने जनाउँदै सबैको सहकार्यका लागि आह्वान समेत गरे ।

उक्त प्रतियोगिता यहि बैशाख २९ गते आयोजना हुन लागेको हो । प्रतियोगिता सम्पन्न गर्न संघका कार्यसमिति सदस्य जिवन रेग्मीलाई जिम्मेवारी दिइएको छ । प्रतियोगितामा नेपाली र विदेशीहरुको दुई छुट्टा–छुट्टै इभेन्ट हुनेछन् ।

प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखरा कार्यालयले प्रवर्द्धन गर्ने भएको सचिव थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close