म्याग्दी जिल्ला भलिबल संघले पाउने भयो उत्कृष्ट खेलकुद संस्थाको अवार्ड

पोखरा स्पोर्टस । ‘नवौं पोखरा स्पोर्टस अवार्ड २०८१’ अन्तर्गत वर्ष उत्कृष्ट खेलकुद संघ–संस्था वा क्लब तर्फको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्ने भएको छ ।

प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै म्याग्दी जिल्ला भलिबल संघलाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो ।

म्याग्दी जिल्ला भलिवल संघ विसं. २०६१ सालमा गठन भएको हो । हाल संघका अध्यक्ष तेजेन्द्र बाँनिया रहेका छन् । भलिबलका लागि उर्वर भूमि म्याग्दीमा जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडि सँगै प्रशिक्षक, रेफ्रि उत्पादन भइसकेका छन् ।

म्याग्दीमा हाल व्यवस्थित खेलमैदान नभएको हुँदा भलिबल कभर्ड हल निर्माणका लागि संघले अग्र पहलकदमीको भूमिका निर्वाह गरिरहेको छ । संघले हल निर्माणका लागि भन्दै २०८० सालमै अक्षयकोष स्थापना गरि ४७ लाख जम्मा गरिसकेको छ । संघले आधुनिक मापदण्ड अनुसारको म्याग्दी भलिबल कभर्डहल ४ वर्ष भित्र निर्माण सम्पन्न गर्ने योजना समेत अगाडी सारेको छ ।

अहिले संघले ७ वर्ष माथि उमेर समूहका बालबालिकाहरुलाई खेलकुदमा आकर्षण गराउँदै ग्रास रुटबाट खेलाडी उत्पादनका लागि प्रशिक्षण दिँई खेल संस्कारको विकास र विस्तार गर्दै आएको छभने विभिन्न भलिबल प्रतियोगिता गर्दै आएको छ । त्यसैगरि संघले २०७९ सालमा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सफलता पुर्वक सम्पन्न गरिसकेको छ भने एनभिए अवार्ड २०८० र गण्डकी प्रदेश भलिबल संघबाट सम्मानित भइसकेको छ ।

त्यस्तै संघले २०६१ सालदेखी म्याग्दीमा धेरै खेलाडी उत्पादन गरिसकेको छ । जसमा राष्ट्रिय खेलाडी कमला पुन, नेपाली टिम कप्तान अरुणा शाही, राष्ट्रिय खेलाडी राजु थकाली, मिलन मल्ल, झमानसिङ परियार, सम्राट भण्डारी, गण्डकी प्रदेश टिमका उपकप्तान सुजन चोखाल, गण्डकी टिम सदस्य पवित्रा बिसी, रेविना घर्ति, मनिसा तिलिजा, अस्मि पुन, रिक्जिना बोटे, काजल छन्त्याल, सजिना बुढाथोकीलगाएतका उत्कृष्ट खेलाडीहरु उत्पादन गरिसकेको छ ।

त्यसैगरि तेजेन्द्र बाँनिया, मलिन रोका, कुमार किसान जस्ता प्रशिक्षक उत्पादनसँगै रेफ्रिहरु समेत संघले उत्पादन गरिसकेको छ । यस्ता उत्कृष्ट कार्यले गर्दा नै म्याग्दी जिल्ला भलिबल संघ पोखरा स्पोर्टस् अवार्डबाट सम्मानित हुन लागेको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close