
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा गठित नारायणी रङ्गशाला जग्गा मुआब्जा एवं सट्टापट्टा छानविन उपसमितीले सोमबार सदस्य सचिव समक्ष प्रतिवेदन बुझाएको छ ।
समितिका संयोजक एव राखेपका सदस्य मानदेव हजाराले सदस्य सचिव टंकलाल घिसिङ समक्ष छनविन समितिको प्रतिवेदन बुझाएका हुन् । राखेपले नारायणी रङ्गशाला भित्र आफ्नो जग्गा परेको भन्दै विभिन्न ब्यक्तिहरुले उक्त जग्गाको उचित मुआब्जा वा सट्टापट्टा माग गरेका थिए । जग्गा धनीहरुको समस्याका बारेमा सुनुवाई गर्दै राखेपले उक्त विवाद बारे छानविन गर्न परिषद्को ९३ औं बोर्ड बैठकले निर्णय गरेको थियो ।
राखेपले निर्णय बमोजिम उक्त जग्गाको मुआब्जा वा जग्गा बराबरको सट्टापट्टा गर्न जग्गाधनीहरु संग आवश्यक छलफल र वार्ता गर्न र सम्वन्धित निकाय संग आवश्यक समन्वय गरी ठोस प्रस्ताव सहित १५ दिन भित्र परिषद् समक्ष प्रतिवेदन पेश गर्न छानविन समिति गठन गरेको थियो ।
राखेपका सदस्य मानदेव हजाराको संयोजकत्वमा मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महम्मद जियाउल स्लाम सदस्य रहने गरि मिति २०७९ आषाढ ६ को निर्णयानुसार २ सदस्यिय नारायणी रङ्गशाला जग्गा मुआब्जा एवं सट्टापट्टा छानविन उपसमिती गठन गरेको थियो ।
