
पोखरा स्पोर्टस । नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई मदन भण्डारी स्पोर्टस एकेडेमीले साथ दिने भएको छ ।
जननेता मदन भण्डारीको नाउँमा स्थापित एकेडेमीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डलाई सहयोग गर्ने भएको हो ।
स्पोर्टस अवार्डलाई विभिन्न संघ–संस्थाले नगद तथा प्रयोजन सहयोग गरिरहेकै बेला एकेडेमीले अवार्डलाई भब्य बनाउन एक सय थान टिसर्ट सहयोगको घोषणा गरेको मञ्चले जनाएको छ ।
सो बारे एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र मञ्चका अध्यक्ष एमबि आस्था मगर बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
एकेडेमी खेल क्षेत्रको विकासमा अग्रसर रहँदै आएको र खेल क्षेत्रलाई माथि उकास्न सबै खेलप्रेमी लाग्नुपर्ने एकाडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । साथै खेल र खेलाडीको साथमा एकेडेमी रहँदै आएको आचार्यले बताए ।
यता मञ्चका अध्यक्ष एमबि आस्था मगरले सहयोगदाता प्रति धन्यवाद ज्ञापन गरे । खेलप्रेमी तथा खेल संघसंस्थाको साथ सहयोगले नै स्पोर्टस् अवार्ड यो उचाईसम्म पुगेको उनको भनाई थियो ।
यस पटकको अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ, भने उदीयमान खेलाडी विधाको लागि सहारा क्लब पोखराले प्रायोजन गरिसकेको छ । त्यस्तै जिल्ला एथलेटिक्स संघ कास्कीले ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरिसकेको छ ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ ।
अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघ/संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो ।
