
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद्, गण्डकीले पदक विजेता खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूका लागि छात्रवृत्ति, आकस्मिक वार्षिक बिमा र औषधि उपचार सहायता कार्यक्रममा सहभागिता जनाउन आवेदन आह्वान गरेको छ।
परिषदले यहि बैशाख ५ गते सूचना प्रकाशित गर्दै उनीहरुलाई सो कार्यक्रमममा सहभागिता हुन आवेदन आह्वान गरेको हो । आफ्नो स्वीकृत वार्षिक विकास कार्यक्रममा समावेश हुन आह्वान गर्दै राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका हाल सक्रिय तथा पूर्व खेलाडी/प्रशिक्षक/रेफ्रीहरूलाई लक्षित गर्दै यस कार्यक्रमअन्तर्गत सहयोग प्रदान गरिने उल्लेख गरिएको सूचनामा जनाएको छ ।
सो बारे जानकारी दिंदै प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले आकस्मिक बिमा कार्यक्रम गत वर्षको निरन्तरता रहेको जनाए । गत वर्षबाट पहिलो पटक गण्डकीमा आकस्मिक बिमा कार्यक्रमको सुरूवात गरेको जनाउँदै परिषदले गत वर्ष ६ सय ९४ जनाको एक मुष्ट आकस्मिक दुर्घटना बिमाको सुरुवात गरेको उनले बताए । उनले भने–“गत वर्ष समेत आकस्मिक बिमा कार्यक्रम महत्वपूर्ण रह्यो । जसबाट तीन खेलाडीले आकस्मिक बिमा बापत रकम प्राप्त गरे ।”
यो संगै परिषदले खेलाडी, प्रशिक्षक र रेफ्रिहरुलाई लक्षित गर्दै छात्रवृत्तिका लागि समेत आह्वान गरेको छ । “खेल संगै अध्ययन पहिलो शर्त हो,” सदस्य सचिब शर्माले भने–“आधुनिक खेलकुदमा अध्ययन आवश्यक छ । हामी खेलाडीहरुको अध्ययन आर्थिक अभावले नरोकियोस भन्ने पक्षमा दृढ छौं । यो कार्यक्रम अन्तर्गत उनीहरु मात्रै होइन समग्र गण्डकीको खेल जगत लाभान्वित हुने छ ।”
यसका साथै परिषदले औषधि उपचार सहायतामार्फत समेत खेलाडी, प्रशिक्षक र रेफ्रिहरु लाभान्वित हुने भएका छन् । सदस्य सचिव शर्माले कार्यक्रममार्फत गण्डकी प्रदेशले खेल क्षेत्रको विकास तथा खेलाडीहरूको सामाजिक सुरक्षामा सहयोग पुर्याउने उद्देश्य राखेको पोखरा स्पोर्टसलाई बताए ।
यस्तो छ सूचना (कुनै रकम नलिई प्रकाशित गरिएको)
