‘मनुश्री-भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ बुधबारदेखि सुरू हुँदै

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबारदेखि पोखरामा चौंथो संस्करणको मनुश्री-भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ ।

आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा ८, ९, १०, १२, १४ र १६ वर्षमुनि ब्वाइज तथा गर्ल्सतर्फ सिंगल्स/डबल्स गरी विभिन्न १४ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोक गुरुङले पत्रकार सम्मेलनमा बताएका हुन् ।

१६ वर्ष सिंगल्सतर्फ बिजेताले नगद १५ हजार तथा उप–विजेताले नगद ७ हजार ५ सय सहित मेडल प्राप्त गर्ने छन । ब्वाइज तथा गर्ल्स ओपन डबल्स तर्फ बिजेताले नगद १० हजार उप विजेताले ५ हजार सहित मेडल प्राप्त गर्ने कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।

१४ वर्ष सिंगल्सतर्फ बिजेताले नगद १० हजार तथा उप–विजेताले नगद ५ सहित मेडल प्राप्त गर्ने छन । १२ वर्ष सिंगलतर्फ बिजेताले नगद ८ हजार तथा उप–विजेताले नगद ४ सहित मेडल प्राप्त गर्ने छन । ८, ९ र १० वर्ष मुनि ब्वाइज तथा गर्ल्स सिंगल्स बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गर्ने छन ।

प्रतियोगिता सम्पन्न गर्न झण्डै ४ लाख खर्च लाग्ने संघ कास्कीका अध्यक्ष भिष्मराज पौडेलले बताए । पोखरामा खेल पर्यटन प्रवर्द्धन गर्न पनि प्रतियोगिता महत्वपूर्ण रहेको उनको भनाई थियो ।

प्रतियोगितालाई मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गरेका छन् । उनले आफ्ना दुई नातीहरुको नाउँमा यो प्रतियोगितामा प्रायोजन गर्दै आइरहेका छन् । 

प्रतियोगितामा पोखरासहित काठमाण्डौ, चितवन, बुटवलका खेलाडीहरुले भाग लिने टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले बताए । पत्रकार सम्मेलनमा कास्की टेनिसकी सदस्य प्रिति बरालले यो प्रतियोगिताले नवप्रतिभाशाली खेलाडीको प्रतिभा प्रस्फुटनमा मद्धत पुग्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close