
पोखरा स्पोर्टस । कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा पोखरामा दुई दिने पोखरा ओपन एथलेटिक्स मिट २०२५ सम्पन्न भएको छ । पोखरा एथलेटिक्स मिट शनिबार भए संगै सिनियरतर्फ ४ जना खेलाडी उत्कृष्ट घोषित भएका छन् । पुरुषतर्फ विभागिय टोली नेपाल आर्मी क्लबका मुकेश बहादुर पाल र सलिम देवान उत्कृष्ट हुँदा महिलातर्फ नेपाल पुलिस क्लबकी सिमा चौधरी र चितवनकी रेशमा सुवेदी उत्कृष्ट बन्न सफल भए ।उत्कृष्ट भए संगै उनीहरुले नगद १०/१० हजारका साथमा प्रमाणपत्र हात पारेका छन् ।
दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा मुकेशले १५०० मिटर र ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए भने सलिम देवानले लङजम्पमा राष्ट्रिय कृतिमान कायम गरेका थिए । उनले ७.१८ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । उनले ३ वर्ष अघि भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ७.०६ मिटर जम्प गर्दै कीर्तिमान स्थापित गरेका थिए ।
यता महिलातर्फ नेपाल पुलिसकी सिमाले लङजम्प र ट्रिपल जम्पमा दोहोरो स्वर्ण पदक जितेकी छन् भने चितवनकी रेशमाले सनशनीपूर्ण खेल प्रदर्शन गर्दै विभागिय टोलीका खेलाडी समेत पछि पार्दै १०० र २०० मिटरमा स्वर्ण पदक जितेकी थिइन ।
यस्तै यूवा प्रतिभावन खेलाडीहरुलाई एथलेटिक्स तर्फ आकर्षण गर्न प्रदान गरिएको ‘राइजिङ स्टार’ पुरस्कार कास्कीका सुदिप भण्डारी र नारायणी भण्डारीले प्राप्त गर्न सफल रहे । उनीहरुले जनही ५–५ हजार नगदका साथमा १२ हजार बराबरको गिफ्ट ह्याम्पर समेत हात पारेको कास्की एथलेटिक्स संघका सचिब सिद्धान्त अधिकारीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
प्रतियोगितामा विभिन्न ट्रयाक एण्ड फिल्डतर्फ १२ विद्यामा प्रतिस्पर्धा भएको थियो । जसमा पुरुष र महिला दुबै इभेन्टतर्फ १०० मिटर, २ सय मिटर, ४ सय मिटर, १५ सय मिटर र ५ हजार मिटर, ४x१०० रिले रेस तथा फिल्डतर्फ लङ जम्प, ट्रिपल जम्प, सटपुट, डिस्क थ्रो, जम्पथल र जाभलिनतर्फका प्रतिस्पर्धा भएको संघका अध्यक्ष गज बहादुर गुरूङले जानकारी दिए ।
