
पोखरा स्पोर्टस । पोखरा क्रिकेट मैदानमा जारी केपी ओली कप राष्ट्रिय टी–२० पुरुष क्रिकेट प्रतियोगिताको समुह ‘सी’ अन्तर्गतको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले मधेश प्रदेश क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको छ ।
प्रतियोगिताको समूह ‘सी’ तर्फ शनिबार पहिलो खेल कर्णाली एकेडेमी क्रिकेट क्लब र हिमाल फ्रेन्ड्स बिच हुने भनिएपनि वर्षाका कारण खेल नहुँदा दुवै टिमले १/१ अंक बाडे । दुवै टिमको समान दुई खेलबाट समान ३/३ अंक रहेपनि नेट रनरेटको आधारमा हिमाल फ्रेन्ड्स अघि रहँदै शीर्षस्थन हासिल गरेको छ । उसको १.१८१८ अंक रहँदा कर्णाली ०.८८२४ अंकका साथ दोस्रो स्थानमा रह्यो ।
१९ ओभरमा १२९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको लुम्बिनीले आक्रमक सुरुवात गर्दै खेलको लय आफ्नो पक्षमा ल्यायो । लुम्बिनीले १८ ओभरमै ५ विकेट गुमाएर १३१ रन बनाउँदै मधेश प्रदेशले दिएको १२९ रनको लक्ष्य सजिलै पछ्यायो ।
लुम्बिनीका देव खनालले २३ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४३ रनको विस्फोटक पारी खेले । उनले १८६.९६ को स्ट्राइक रेटमा रन बनाउँदै टोलीलाई शानदार सुरुवात दिलाएका थिए ।
त्यसपछि रञ्जित खत्रीले जिम्मेवारी सम्हाल्दै ४५ बलमा अविजित ५४ रन बनाए । जसमा ५ चौका र २ छक्का समावेश थियो । उनले संयमित ब्याटिङ गर्दै लुम्बिनीलाई लक्ष्यसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेले ।
कप्तान प्रज्ज्वल थापा शून्य रनमा दिपेश दासको हातबाट क्याच आउट हुँदै प्रदीप पासवानको बलमा आउट भए । त्यसपछि सन्दीप रजाली (१३ रन, १५ बल) र निश्चल चौधरी (० रन) लाई हरि शंकर साहले पेविेलियन फर्काए, जसले कसीसहित २ विकेट लिए ।
तुल बहादुर थापाले ७ रन बनाए । उनलाई पप्पु यादवले बोल्ड गरे । अन्त्यतिर मोहमद हुसैन ९ बलमा अविजित १३ रन बनाउँदै खेल लुम्बिनीको पक्षमा ल्याए ।
यता मधेशका लागि कप्तान रुपेश सिंहले आफ्नो ४ ओभर पुरा गरे तापनि विकेट हात पार्न सकेनन् र ३२ रन खर्चिए । पप्पु यादवले पनि ४ ओभर बलिङ गर्दै ३२ रन दिए र तुल बहादुर थापाको विकेट लिए ।
प्रदीप पासवान मधेशको बलिङतर्फका उत्कृष्ट प्रदर्शनकर्ताको रूपमा देखा परे । उनले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । जसमा लुम्बिनीका प्रमुख ब्याट्सम्यान देव खनाल र कप्तान प्रज्ज्वल थापाको विकेट सामेल थियो ।
हरि शंकर साहले पनि शानदार प्रदर्शन गर्दै ३ ओभरमा १४ रनमात्र खर्चेर २ विकेट लिए । जसमा सन्दीप रजाली र निश्चल चौधरी सामेल थिए । आफरुद्धिन रैनले २ ओभर बलिङ गर्दै २१ रन खर्चिए भने विशाल सुस्लिङले १ ओभर बलिङ गर्दा ४ रनमात्र दिए ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनी खुकुरी क्लबविरुद्ध मधेश प्रदेश क्रिकेट क्लबले १९ ओभरमा ९ विकेट गुमाएर १२८ रन बनायो ।
शनिबार बिहान परेको अविरल वर्षाका कारण १ ओभर छोट्टाइएको पारीमा मधेशले सुरुवाती ओभर भने निकै कमजोर रह्यो तर मध्यक्रम र अन्तिमक्रमको योगदानले टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्यायो ।
मधेश प्रदेशका सुरुवाती ब्याट्सम्यानहरू—हरि शंकर साह र रोहन बिके समान १–१ रन बनाएर आउट हुँदा विशाल सुस्लिङले ३ रन बनाएर पेभिलियन फर्किए । लगातार विकेट खस्दा मधेश प्रदेश टोली दबाबमा समेत परेको थियो ।
अरनिको यादवले २० बलमा १२ र दिपेश दासले ११ बलमा ९ रन बनाएर मधेशको पारी सम्हाल्ने प्रयास गरे पनि लामो साझेदारी बनाउन सकेनन् । त्यसपछि पप्पु यादवले १० बलमा १ चौका र १ छक्कासहित १७ रन बनाउँदै रनरेटमा सुधार ल्याउन प्रयास गरे ।
मधेशका कप्तान रुपेश सिंहले पारीको मध्य भागमा उत्कृष्ट भूमिका खेले । उनले १९ बलमा २८ रन बनाउँदा १ चौका र २ छक्का प्रहार गरे । अन्तिमतिर विशाल पटेल ६ अभिषेक कार्की ४ र नटआउट रहेका प्रदीप पासवान १३ र आफरुदिन रैन ११ को संयमित ब्याटिङले स्कोरले १२८ रनमा पुर्याउन सहयोग पुर्यायो।
मधेशका लागि एक्स्ट्रा रन पनि महत्वपूर्ण रह्यो । जसमा विपक्षी लुम्बिनीले १० लेग बाइ र १३ वाइड सहित २३ रन उपहारमा दियो ।
लुम्बिनी खुकुरी क्लबका लागि अजय कुमार चौहानले ३ महत्वपूर्ण विकेट लिए,जसमा अरनिको र पप्पुको विकेट सामेल थियो । यसै गरी देव खनालले २ विकेट लिएर मध्यम क्रमको ओभरहरूमा राम्रो दबाब कायम राखेका थिए । सन्देश थापा र अभिषेष गौतमले समान १–१ विकेट लिए । सन्देश थापा र अभिसेष गौतमको मिलेर गराएको रनआउटले पनि मधेशको पारीमा झट्का दियो ।
बैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भोलि समूह ‘सी’ को अन्तिम खेलहरु हुनेछन् । जसअनुसार लुम्बिनी खुकुरीले कर्णाली एकेडेमीको सामना गर्नेछ भने मधेश प्रदेशले हिमाल फ्रेन्ड्सको सामना गर्नेछ ।
