
पोखरा, मुख्य मन्त्री कप गण्डकी प्रदेश स्तरिय फुटबल प्रतियोगिता यहि माघको पहिलो साता बाट पोखरामा शुरु हुने भएको छ । एन्फाको नयाँ कार्यविधी अनुसार प्रदेश स्तरिय फुटबल प्रतियोगिता गण्डकी प्रदेशमा पहिलो पटक हुन लागेको हो ।
उक्त प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवम एन्फाका उपाध्यक्ष कृष्ण थापाले माघ ४ गते बाट ९ माघ गते सम्म पोखराको भण्डारढिक आर्दश खेल मैदानमा हुने प्रतियोगितामा गण्डकी प्रदेश बाट ८ जिल्लाका टिमले सहभागिता जनाउने जानकारी दिएका छन ।
गण्डकी प्रदेशमा एन्फा मान्यता प्राप्त ७ जिल्ला सोझै मुख्य मन्त्री कपमा भिडने छन भने बागलुङ एन्फा मान्यता प्राप्त जिल्ला भए पनि स्थानिय जिल्ला लिग समयमा नगरेकोले दण्डित गर्दै अन्य तिन जिल्ला पर्वत, म्याग्दी, मुस्ताङ संग क्वालिफाइइङ म्याच खेल्न पर्ने संयोजक थापाले बताए । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुव्वा गुरुङले सबै जिल्लालाई समेटन आग्रह गरे अनुसार तिन जिल्लाका विच क्वालिफाइङ राउण्ड खेलाउने स्थिती बनेको र विजेता जिल्लाले सहभागिता हुन पाउने प्रावधान राखिएको उनले बताए ।
यि चार टिम बिचको खेल भने यहि पुष २८ गते वागलुङ र म्याग्दीमा हुनेछन । जस अनुसार पर्वतले पहिलो राउण्डमा पर्वत संग र म्याग्दीले मुस्ताङ संग भिड्ने भएका छन ।
लिग कम नक आउटका आधारमा संचालनमा हुने मुख्य मन्त्री कपमा जिल्लाका लिग बिजेता टिम स्याङजा बाट होराइजन क्लब, तनहुँ बाट भिमाद युथ क्लब, लमजुङ बाट त्रिवेणी यूवा क्लब, गोर्खा बाट बौद्ध हिमाल क्लब, कास्की बाट आर्दश क्लब, नवलपुर बाट गैंडाकोट खेलकुद, मनाङ बाट डाँफे युवा क्लबको सहभागिता हुने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।
प्रतियोगितामा विजेता हुने टिमले नगद ५ लाख र उपविजेता हुनेलाई नगद ३ लाख नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिहुने टिमलाई टिम तयारी स्वरुप नगद ५० हजार समेत प्रदान गरिने छ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने मध्ये वेष्ट डिफेन्स, वेष्ट गोल किपर, वेष्ट मिड फिल्डर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार प्रदान गरिनेछ ।
प्रतियोगिता सम्पन्न गर्न गण्डकी प्रदेश सरकारले ४० लाख नगद उपलव्ध गराउने आयोजकले जनाएको छ । पहिलो चरणमा २० लाख र खेल अवधीमा २० लाख गरि ४० लाख दिने सहमती भएको संयोजक थापाले बताए । करिब १ करोड १ लाख खर्च हुने प्रतियोगितामा करिब ७३ लाख खर्च हुने अनुमान आयोजकले गरेकोछ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राम कृष्ण ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एन्फा कास्कीका सचिब रमेश कार्कीले समेत आ–आफ्ना धारणा राखेका थिए ।
प्रतियोगिता नहुँदै आन्तरिक बिवाद !
यता अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य मन्त्री कप गण्डकी प्रदेश स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्न उपाध्यक्ष कृष्ण थापाको संयोजकत्वमा आयोजक समिती गठन गरेर पठाएपछि हालै गण्डकी प्रदेश फुटबल संघमा अध्यक्ष चयन भएका धरम सिंह लामिछानेले असहमती प्रकट गर्दै पत्रकार सम्मेलनमा उपस्थिती जनाएनन । उनले कार्यक्रममा किन आउनु भएन भन्ने प्रश्नभने–“खोई मलाई पत्रकार सम्मेलन बारे थाहानै दिइएन । मलाई मात्र होइन प्रदेश संघका कुनै पदाधिकारीलाई समेत जानकारी दिइएन ।”
भाँडभैलो तरिकाले संघ अगाडी वढ्न नसक्ने बताउँदै समयमा खवर नगरी एकलौटी रुपमा कुनै कार्यक्रम गर्दा सफल नहुने अध्यक्ष लामिछानेले जिकिर गरे ।
तर यता आयोजक मध्येका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले पत्रकार सम्मेलन र एन्फाले आयोजना गरे रेफ्रि समापन कार्यक्रमको समेत जानकारी गराइएको बताए । उनले भने–“मैले पटक–पटक फोन गरे, म पनि प्रदेशको उपाध्यक्ष हुँ, कार्यक्रम के कसो हुँदैछ अध्यक्षले चासो दिनपर्ने ठाउँमा फोन गर्दा पनि नआउनु अध्यक्षकै कमजोरी हो ।”
प्रदेशमा नै एन्फाको नयाँ कार्यविधी अनुसार तथा ७० लाख खर्च हुने कार्यक्रम आयोजना भइरहँदा एन्फा भित्रै आन्तरिक विवाद हुन पक्कै पनि सुहाउँदो विषय होइन । नेपाली फुटबलको जगलाई बलियो बनाउन प्रदेश सरकारले गरेको सहयोग संगै प्रतियोगिता र यसले खेलाडी उत्पादनमा खेलकुद भित्र देखिने यस्ता विवादले पक्कै पनि नकारात्मक सन्देश प्रवाह हुने भएकोले समयामानै मत्थर हुन आवश्यक छ ।
तस्बिरः सुदर्शन रंजित
