केपी ओली कप टी–२० क्रिकेट: गण्डकी हिरोज सेमीफाइनलमा, प्रतिकुल मौसमका कारण खेल रद्ध

पोखरा स्पोर्टस । पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बी’ बाट गण्डकी हिरोज रनरेटको आधारमा सेमीफाइनलमा प्रवेश गरेको छ ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको छैटौं दिन समूह ‘बि’ तर्फका अन्तिम खेल हुने भनिएपनि बुधबार रातीको अविरल वर्षासंगै बिहिबारको प्रतिकुल मौसमले खेल हुन नसकेपछि रनरेटको आधारमा हिमालयन क्रिकेट एकेडेमीलाई पछि पार्दै गण्डकी हिरोज शिर्षस्थानमा रह्यो ।

कुल २ खेल खेलेको गण्डकीको २ जितसहित ५ अंक रहँदा समान खेल खेलेको हिमालयनको पनि समान अंक रहेको थियो । उता ग्रेट हिमालयन क्रिकेट एकेडेमी र चितवन क्रिकेट क्लबको पनि कुल २ खेलबाट समान १/१ अंक रहेको थियो ।

बिहिबार समूह चरणमा आफ्नो अन्तिम खेल अन्तरगत चितवन र ग्रेट हिमालय बिच पहिलो तथा गण्डकी र हिमालयन बिचमा दोस्रो खेल हुने तालिका थियो । दुवै खेल मौसमका कारण रोकिएपछि नेट रनरेटको आधारमा गण्डकी शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुग्ने दोस्रो टोली बनेको छ ।

गण्डकीको रनरेट १.४३४६ रहँदा हिमालयनको ०.८१५८ रह्यो । ग्रेट हिमालय माइनस २.११२८ अंकका साथ तेस्रो स्थानमा रहँदा माइनस ३.४७२५ अंकका साथ चितवन पुछारमा रह्यो ।

समूह ‘ए’ बाट यस अघि शीर्षस्थानमा रहँदै सिइसी काठमाडौं सेमीफाइनलमा प्रवेश गरेको थियो काठमाडौंले आफ्नो ३ मध्ये ३ खेलमा नै जित हासिल गर्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको थियो ।

कुल १६ टिमको सहभागिता रहेको प्रतियोगितामा ४ समूह रहेका छन् । अब समूह ‘सी’ र ‘डी’ तर्फका खेल हुन बाकी रहेका छन् । हरेक समूहको शीर्ष स्थानमा रहने टोलीले अन्तिम चारमा प्रवेश गर्नेछन् ।

चैत २३ गतेबाट सुरु भएको प्रतियोगिता बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी ‘प्लेयर अफ द सिरिज’ ले रु ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले जनही रु १० हजार र ‘प्लेयर अफ द म्याच’ले रु पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने छन् ।

प्रतियोगितामा भोलि समूह ‘सी’ तर्फ कर्णाली एकेडेमी र मधेश प्रदेश क्रिकेट क्लबबिच पहिलो तथा हिमाल फ्रेन्डस क्रिकेट क्लब र लुम्बिनी खुकुरी बिच दोस्रो खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close