पोखरा एथलेटिक्स मिटको तयारी पुरा, साउथ एसियन च्याम्पियनसिप छनौटको मान्यता

पोखरा स्पोर्टस/तस्विरः सुदर्शन रञ्जित । जिल्ला एथलेटिक्स संघ कास्कीको आयोजनामा पहिलो पटक पोखरामा हुने राष्ट्रिय एथलेटिक्स प्रतियोगिता ‘पोखरा एथलेटिक्स मिट २०२५’को तयारी पुरा भएको छ ।

संघले बुधबार एक पत्रकार सम्मेलन गरी यहि चैत्र २९ र ३० गते पोखरा आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितालाई भारतको राँचीमा आयोजना हुने ‘साउथ एसियन च्याम्पियनसिप’का लागि समेत छनौट खेलका रुपमा मान्यता पाएको छ ।

‘साउथ एसियन च्याम्पियनसिप’का लागि मान्यता पाए संगै पोखरामा करिव तीन वर्ष पछि हुन लागेको ‘पोखरा एथलेटिक्स मिट २०२५’ मा सहभागिता जनाउने खेलाडीहरुको संख्या समेत ह्वात्तै बढेको कास्की एथलेटिक्स संघका सचिव सिद्धान्त अधिकारीले पत्रकार सम्मेलनमा जनाए ।  प्रतियोगितामा महिला र पुरूष गरी २४० जनाले सहभागिता जनाउने छन् । 

प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलाडीहरू संगै देशभरका एथलेटिक्स खेलाडीको सहभागिता रहेको अध्यक्ष गज बहादुर गुरूङले बताएका छन् । स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा देशभरका विभागीय टिमहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, सुदुरपश्चिम प्रदेश, लुम्बिनी, कर्णाली, कोशी प्रदेशलगायत देशभरकै निर्णायक, प्रशिक्षक, संघीय तथा प्रदेश एथलेटिक्स संघका प्रतिनिधि, प्राविधिक टिम लगायतको सहभागिता हुनेछ ।

प्रतियोगितामा विभिन्न ट्रयाक एण्ड फिल्डतर्फ १२ विद्यामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जसमा पुरुष र महिला दुबै इभेन्टतर्फ १०० मिटर, २ सय मिटर, ४ सय मिटर, १५ सय मिटर र ५ हजार मिटर, ४x१०० रिले रेस तथा फिल्डतर्फ लङ जम्प, ट्रिपल जम्प, सटपुट, डिस्क थ्रो, जम्पथल र जाभलिनतर्फका प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा बिजेताहरुले नगद ५, ३ र २ हजारका साथमा मेडल तथा ट्रफी पाउने छन् । उत्कृष्ट एक महिला तथा एक पुरूष खेलाडीलाई नगद जनही १०/१० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा खेलाडी उत्पादन हेतु कास्की जिल्लाका विद्यालयस्तरको (१२ देखि १६ वर्ष मुनीको) १०० मिटर दौड समेत समावेश गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close