पोखरा ओपन एथलेटिक्स मिटः २४० खेलाडीले गरे दर्ता, साउथ एसियन छनौट पनि हुँदै

पोखरा स्पोर्टस । पोखरा ओपन एथलेटिक्स मिट २०८१ मा २४० जना सहभागिताका लागि खेलाडीहरुले नाम दर्ता गराएका छन् ।

कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा हुने पोखराकै पहिलो एथलेटिक्स महाकुम्भमा यति ठूलो संख्यामा खेलाडीहरु पोखरा आउन लागेका हुन् । राष्ट्रिय खेलकुद परिषल (राखेप) वा नेपाल एथलेटिक्स संघले आयोजना गरेको भन्दा बृहद् रुपमा काठमाण्डौ बाहिर जिल्ला एथलेटिक्स संघले आयोजना गरेको यो नै पहिलो एथलेटिक्स प्रतियोगिता समेत हो ।

नेपाल एथलेटिक्स संघको निर्वाचन हुन नसकी राखेपले संघलाई यथास्थितीमा राखे संगै विगत तीन वर्ष देखि एथलेटिक्समा राष्ट्रिय प्रतियोगिताहरु सञ्चालन हुन सकेका थिएनन् । भारतको रांचीमा आयोजना हुने दक्षिण एयिाली एथलेटिक्स च्याम्पियनसिपका लागि यहि प्रतियोगितालाई छनौट खेलको रुपमा अघि बढ्ने भए संगै सहभागिता जनाउने खेलाडीहरुको संख्या समेत ह्वात्तै बढेको कास्की एथलेटिक्सका सचिब सिद्धान्त अधिकारीले पोखरा स्पोर्टसलाई बताए ।

सचिब अधिकारीका अनुसार प्रतियोगितामा महिलातर्फ ६३ र पुरुषतर्फ १७७ जनाले आफ्नो नाम दर्ता गराएका छन् । उनले भने–“यति ठूलो संख्यामा खेलाडी आउलान जस्तो लागेको थिए । राष्ट्रियस्तरका प्रतियोगिता नभएको पनि धेरै भयो । खेलका लागि जननी मानिने एथलेटिक्स राष्ट्रियस्तरका खेल ठप्प हुँदा खेलाडीहरु समेत मर्कामा थिए ।” सचिव अधिकारीले थपे–“पोखरा ओपन एथलेटिक्स मिटलाई खेलाडीहरुले अवसरको रुपमा लिएका छन् । धेरै खेलाडीहरुको अन्तर्राष्ट्रिय यात्रा यहि प्रतियोगिताबाट सुरूवात हुनेछ । हामी आयोजकका लागि यो गौरवको विषय हो । ”

कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा यहि चैत्र २९ र ३० गते पोखरा रंगशालामा सञ्चालन हुने ‘पोखरा ओपन एथलेटिक्स मिट’ को तयारीमा जुटिरहेका कास्कीका अध्यक्ष सात प्रदेश, तीन विभागिय टोली, हिमालय इलिट रन क्लब संगै विभिन्न प्रशिक्षण क्लबका खेलाडीहरुको सहभागिता हुने अध्यक्ष गज बहादुर गुरूङले पोखरा स्पोर्टसलाई बताए ।

यो प्रतियोगिता सबै नवप्रतिभाशाली संगै एथलेटिक्समा निरन्तर लागि रहेका खेलाडीहरुको लागि पर्व संगै अवसरको रुपमा रहेको बताउँदै अध्यक्ष गुरूङले प्रतियोगितामा ‘वेष्ट मेन्स एथलिट’ र ‘वेष्ट उमेन्स एथलिट’लाई जनही नगद रु १०–१० हजार प्रदान गरिने तथा दुई जना राइजिङ एथलिटहरूलाई गिफ्ट ह्याम्पर प्रदान गरिने उनले जानकारी दिए ।

प्रतियोगितामा ट्रयाकतर्फ महिला तथा पुरूष १०० मिटर, २०० मिटर, ४०० मिटर, १५०० र ५ हजार मिटर दौड तथा ४x१०० रिले रेस हुने छ भने फिल्डतर्फ हाइजम्प, लङ जम्प, ट्रिपल जम्प, सटपुट र ज्याभलिन थ्रोका प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोसगतामा हरेक इभेन्टमा पहिलो, दोस्रो र तेस्रो हुने पुरुष तथा महिला खेलाडीलाई क्रमश जनही नगद रु ५, ३ र २ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

यो एथलेटिक्स प्रतियोगिता नवोैं राष्ट्रिय खेलकुद प्रतियोगिता पछिको ठूलो प्रतियोगिता समेत हुने भएकोले स्थानिय खेलप्रेमीहरुलाई पोखरा रंगशाला आएर खेलाडीलाई उत्साह बढाउन आयोजकले आग्रह गरेको छ । देशकै ठूलो रंगशालामा ट्रयाक एण्ड फिल्डका प्रतियोगिताहरू नहुँदा अलपत्र देखिएको अवस्थामा यो प्रतियोगिताले स्थानिय खेलाडीलाई उत्साह भर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई योर्स ट्रेनिङ सेन्टर पोखराले मुख्य प्रायोजनमा गर्नेछ भने प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगर पालिकाले सहयोग गर्ने भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close