होला त दशौं राष्ट्रिय खेलकुद !

पोखरा स्पोर्टस । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ जेठ ३ देखि १० गते सम्म हुने तय भएको छ । यो मिति तेस्रो पटक तय भएको हो । तर प्रतियोगिता समयमा हुने विषयमा भने अझै शंका छ ।

अहिले पनि दशौंको लागि भन्दै ३५ खेलका सयौं खेलाडीहरू तयारीमा छन् । पालिका हुँदै जिल्ला र प्रदेश छनौट पनि बाँकी छन् । बन्द प्रशिक्षण लगायतका विषय पनि यसैमा जोडिएका छन् । सात प्रदेश, तीन विभागिय टोलीका करिव ८ हजार खेलाडीको सहभागिता हुने छ । त्यसै गरी आयोजक र अन्य सहभागि गरेर १० हजार भन्दा बढि दशौं राष्ट्रिय खेलकुदका लागि सुर्खेत जाने छन् ।

तर यी सबै पछाडी तयार हुनुपर्ने राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्य सम्पादनको बैठक, राष्ट्रिय खेलकुद निर्देशिका, विषयगत उपसमितिको गठनलगायतका विषयहरु अझै पनि अन्यौल अवस्थामा छन् । आजको मितिबाट प्रतियोगिताका लागि करिव ४५ दिन बाँकी छ । तर मुख्य आयोजक संस्था आफैमा रुमलिरहेको भान हुन्छ ।

यसै सन्दर्भमा दशौं राष्ट्रिय खेलकुदका लागि खेलाडी पोशाक, मेडल र यातायतका लागि राखेपले टेन्डर समेत आह्वान गरेको छ । टेन्डरका लागि अन्तिम दरखास्त हाल्ने मिति २०८१ चैत्र २४ गते तोकिएको छ । तर अझै पनि पालिका, जिल्ला र प्रदेश छनौटहरु अलमलमा छन् । सबै तहबाट अन्तिम छनौटमा परेका खेलाडीहरुलाई खेल पोशाक (किट्स) पाउनु खेलाडीहरुका् नैसर्गिक अधिकार हो । तर खेलाडीहरु छनौट नै नभई कुन आधारमा खेल पोशाक तयार होला यो विषय हाँसो उठ्दो छ ।

राखेपका अनुसार दशौं राष्ट्रिय खेलकुदका लागि १० हजार ४२६ थान खेल पोशाक आवश्यक पर्छ । खेलाडीहरुको छनौट हुने कहिले ? खेल पोशाक बन्ने कहिले ? यो विषय निकै पेचिलो छ । “या त अहिले नै कुनै आफ्नो नजिकको कम्पनीलाई अहिलेबाट नै पोशाक बनाउन दिइएको छ । वा पहिल्यै नै राखेपले पोशाक तयार गरिसकेको हुनुपर्छ । टेन्डरको खुल्ने दिन आफ्नै नजिकको व्यक्तिलाई टेन्डर थमाएर पोशाक ल्याउन भनिने छ । गोदममा थन्काइने छ । अनि भद्रगोल तवरले वितरण गरिने छ ।”

खेलाडी पोशाकको विषयमा विगत नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत अनियमितताको भएको खेलाडीहरूले आरोप लगाएका थिए । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदकमा समेत केही खेलका खेलाडीहरुले पोशाक नै पाएनन भने केहीले धेरै पछि पाए । उनीहरु आफ्नै खेल पोशाकमा मैदान उत्रिएका थिए । पोशाकको साइज नमिल्दा खेलाडीहरु रुष्ट समेत थिए । कोहीलाई ठूलो साइजको जुत्ता त कोहीलाई मिल्दै नमिल्ने पोशाक ।

यस्तै अर्को टेन्डर आह्वानमा मेडलका लागि छ । अहिले सम्म ३५ खेल हुने भन्ने छ । तर इभेन्ट कति हुने भन्ने विषय अन्यौल नै छ । विषयगत समिति नबन्दा खेल र इभेन्टको संख्या संगै मेडलको संख्या पनि एकिन हुन सकेको छैन । राखेपको ११८ औं बोर्ड बैठकले ३५ खेलहुने निर्धारण त गरेको छ तर राष्ट्रिय प्रतियोगितामा समावेश हुनकै लागि नवौं राष्ट्रिय खेलकुदमा एक दर्जन खेलहरु पदर्शनी खेलको रुपमा खेलाइएको थियो । ति खेलहरु समावेश नगरिदा खेल संघहरु राखेप संग रुष्ट समेत बनेका छन् ।

यसै गरी अर्कोतर्फ पोशाक खरिदका लागि सम्वन्धित प्रदेश खेलकुद परिषदलाई जिम्मेवारी दिइने ११८ औं बोर्ड बैठकले तय गरेको थियो । सबैले आ–आफ्नो प्रदेश झल्किने खेल पोशाक बनाउने भन्ने थियो । तर राष्ट्रिय खेलकुद प्रतियोगिताको निर्देशिका नवौं खेलकुद भन्दा भिन्न हुन नसक्दा प्रदेश खेलकुद परिषदहरु समेत रुष्ट बने भने अर्कोतर्फ पालिका, जिल्ला र प्रदेश छनौटका लागि राखेपले पाठउनु पर्ने रकम प्राप्त हुन नसक्दा सबै विषय लथालिङ्ग अवस्थामा छ ।

यति बेला हरेक खेलाडीहरुको मनमा एउटै प्रश्न उब्जिएको छ । त्यो हो । समयमा नै सुरू होला त दशौं राष्ट्रिय खेलकुद ? यो विषय चिर्न र खेलाडीहरुको विश्वास जगाउन पनि राखेप र यूवा तथा खेलकुद मन्त्रालय जिम्मेवार बन्नुपर्नेमा उनीहरुको आवाज छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close