लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’ले पोखरामा अन्तर्राष्ट्रिय भलिबल गर्ने

पोखरा स्पोर्टस । सामाजिक सेवामा समर्पित लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’, नेपालले पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्ड हलमा आगामी बैशाख १८ देखि २२ गतेसम्म लिगकम नकआउट फर्म्याटमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिइएको हो । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल निर्माण सम्पन्न भएको लामो समय पछि अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’का डिष्ट्रिक्ट गर्भनर चण्डीप्रसाद अर्यालले लायन्स अन्तर्राष्ट्रियस्तरमा १ सय ७ औं र नेपालमा ५३ औं वर्ष पूरा भएको अवसरमा उक्त प्रतियोगितामा आयोजना गर्न लागिएको बताए । उनका अनुसार सो प्रतियोगितामा विदेशीसहित कुल ६ टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, र पाकिस्तान भलिबल क्लब इस्लामावादको सहभागिता रहने छ भने इरान र भारतको टिमसँग समन्वय भइरहेको अर्यालले जानकारी दिए ।

“अहिलेसम्म पाकिस्तान र नेपालको गरी ५ वटा टिमको सहभागिता पक्का भइसकेको छ । बाँकी १ टिमका लागि भारत र इरानी टोलीसँग कुराकानी भइरहेको छ । त्यो पनि छिट्टै फाइनल हुन्छ”, उनले भने ।

प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफी प्राप्त गर्नेछ ।

यस्तै, उपविजेताले नगद २ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफी हात पार्नेछ । भने, सान्त्वना स्थान गर्ने समूहले नगद १ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफीद्वारा पुरस्कृत हुनेछ । त्यस्तै विधागततर्फ समेत पुरस्कार राशीको पनि व्यवस्था गरिएको छ ।

प्रतियोगिताको लिगचरणका खेलका लागि प्रवेश शुल्क ३ सय रूपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close