
पोखरा स्पोर्टस । दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय टि–२० पुरुष क्रिकेट प्रतियोगिता यहि चैत्र २३ गते देखि पोखरामा हुने भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता पोखरास्थित क्रिकेट खेल मैदानमा चैत्र ३० गते सम्म हुने भएको हो । एकेडेमीका परिकल्पनाकार एवं एकेडेमीका संरक्षक प्रधानमन्त्री केपी ओलीको नाउँमा उक्त प्रतियोगिता गत वर्षबाट सुरू भएको हो ।
मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरूङका अनुसार प्रतियोगिताको दोस्रो सस्करणमा पुरस्कार राशी समेत बढाइएको पोखरा स्पोर्टसलाई जानकारी दिए ।
प्रतियोगितामा उपाधि विजेता टिमले प्रथम पुरस्कार नगद रु १० लाख, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद रु ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दुई सेमीफाइनालिष्ट टिमले समान नगद १–१ लाख प्राप्त गर्नेछन् ।
प्रतियोगितामा म्यान अफ द सिरिजले नगद ३० हजार रूपैयाँ, बेस्ट ब्याटर र बलरले जनही नगद २०–२० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।
कुल १८ लाख ४५ हजार हुने पुरस्कार राशी मध्ये प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ३० लाख ७७ हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रथम संस्करणको केपी ओली कपको उपाधि मधेश प्रदेशले जितेको थियो ।
